दुई मतपत्र बनाउन कठिन छः डा यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएको राससले जनाएको छ ।

निर्वाचन आयोगमा कात्तिक ३ गते पत्रकारसँग कुरा गर्दै उनले भने-“यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले छलफल गरिरहेको छ । राजनीतिक दलहरूकै सल्लाह र सुझावका आधारमा आयोगले मतपत्र तयार गरेको हो । दुई ओटा मतपत्र छाप्ने/नछाप्ने भन्ने विषय समितिले दिने सुझावका आधारमा हुनेछ ।”

“समय कम छ । छोटो अवधिमा छाप्न कठिन छ । विषय एक अर्कासँग जोडिएको छ । त्यसैले मतपत्र छापेर मात्र हुँदैन । दुर्इ ओटा मतपत्र छाप्नलाई आवश्यक पर्ने कागज र मेसिनको व्यवस्थापन, छपाइपछि गर्नुपर्ने बाइण्डिङ र ढुवानी तथा मतदान केन्द्रको क्षमता आदिलाई पनि ध्यान आवश्यक छ ।”

सर्वोच्च अदालतले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ बाँकी नै देखिँदा प्रतिनिधिसभा र प्रदेशसभाको अलगअलग ऐन रहेको अवस्थामा दुवै सभा सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग्गै छाप्ने सम्बन्धमा निर्वाचन आयेगले गम्भीरतापूर्वक विचार गर्ने नै छ भनी फैसला सुनाएको थियो ।

यसैबिच आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ताका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको बताउँदै डा. यादवले भने-“राजनीतिक दलहरूबाट अब मतदातालाई जागरण गर्ने कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।”

 


अनलाइन डेस्क