दुई छोराको हत्या गरी आमाद्वारा आत्महत्या

  ०७८ असोज २३ गते

पाँच वर्षीय छोरा अभिषेक साह र तीन वर्षीय छोरा आदित्य साहलाई नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया आमा गुडिया साहले असोज २२ गते साँझ घाँटी थिचेर हत्या गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

३० वर्षीय पति गुरुदेव साह काम विशेषले जनकपुर आएका बेलामा दुवै छोराको हत्यापछि घरकै सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले बताउनुभयो ।

मृतक गुडिया र गुरुदेवबिच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । प्रेम विवाहपछि गुडियाको माइती पक्षले भागी विवाह गरेको भन्दै अस्विकार गरेका थिए ।

तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी बस्नेतले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दिपेन्द्रप्रसाद सिंह