दुई ओटा मतदानस्थल भवन विहिन, २१ ओटा मतदानस्थल अतिसंवेदनशील

  ०७९ वैशाख २० गते

जिल्लाका १ सय २६ ओटा मतदानस्थल मध्ये दुई ओटा मतदानस्थल भवन विहिन रहेका छन ।

अमरगढी नगरपालिका–४ को टुँडिखेल र परशुराम नगरपालिका–६ को कुणामा राखिएका दुई ओटा मतदान केन्द्र भवन विहिन रहेका छन ।

मतदान केन्द्र राखिएको स्थानमा भवन नहुँदा खुल्ला चौरमा चुनाव गर्नु पर्ने बाध्यता रहेको र मतदाताहरुलाई पनि समस्या हुने देखिएको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताउनु भयो ।

चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो ।

८० ओटा मतदानस्थल र १ सय २६ ओटा मतदा केन्द्र मध्ये जिल्ला सुरक्षा समितिले जिल्लाका २१ ओटा मतदानस्थल अतिसंवेदनशील रहेका निष्कर्ष निकालेको छ ।

८० मतदानस्थल मध्ये ४० मतदानस्थल संवेदनशील र १९ मतदानस्थल सामान्य रहेको समितिले निष्कर्ष निकालेको हो ।

८४ हजार ८ सय ७१ मतदाता रहेको यस जिल्लामा ४१ हजार ९ सय ६ जना पुरुष र ४२ हजार ९ सय ६५ जना महिला मतदाता रहेका छन ।

निर्वाचनमा ६ सय २१ जना कर्मचारी र ३ सय ७८ जना स्वयंमसेवक गरी ९ सय ९९ जना कर्मचारी खटाइएको र निर्वाचन सामाग्री तथा नमुना मतपत्रहरु जिल्लाका सबै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीले बताउनु भयो ।


भूपेन्द्र बिष्ट