दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन सुरू भएको राससले जनाएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्न थालेपछि माघ ४ गते प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

दोहोरो झडपमा परी चार जना आन्दोलनकारी, पाँच जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरीका जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी शिवबहादुर सिंहले बताए ।

घाइतेमध्ये दीपायल सिलगढी नगरपालिका–४ का भरत विकको अवस्था गम्भीर भएकाले उपचारका लागि उनलाई धनगढी पठाइएको छ ।

यस्तै केआइसिंह– ७ का करी भण्डारी, दीपायल सिलगढी नगरपालिका–१ का नारायण खड्का र पुष्कर द्वारिया घाइते भएका छन् । उनीहरुको उपचार दीपायलस्थित सुजङ्ग अस्पतालमा भइरहेको छ ।

अन्य दर्जनौँ मानिसलाई चोटपटक लागेको छ । हजारौँको सङ्ख्यामा आएका आन्दोलनकारीको भीडमा बढीजसो महिला छन् । आक्रोशित आन्दोलनकारीले तीन ओटा प्रहरी बिट र सडक कार्यालयको टिपरमा समेत तोडफोड गरेका छन् ।


अनलाइन डेस्क