दिवा खाजा कार्यक्रम प्रभावकारी नहुँदा बालबालिकाले नियमित पोषणयुक्त खाना खान नपाएको अभिभावकहरूको गुनासो

  ०७९ भदौ ३१ गते

बालबालिकाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु ग¥यो । बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा संचालन गरेपनि जिल्लाका समुदायिक विद्यालयमा भने यो सेवा प्रभावकारी हुन सकेको छैन ।

सरकारले प्रत्येक व्यक्तिलाई दिवा खाजाको लागि दैनिक उपलब्ध गराउने १५ रुपियाँ न्यून भएको र विद्यालयले उचित व्यवस्थापन गर्न नसक्दा आफ्ना बालबालिकाले नियमित पोषणयुक्त खाना खान नपाएको अभिभाकहरूले गुनासो गरेका छन् ।

विद्यालयले उपलब्ध गराएको खाजाले पेट नभरिने भएका कारण बालबालिका घरबाट पैसा लगेर पसलका जङ्कफुड किनेर खान नछाडेको शारदा नगरपालिका–१४ का खुम बहादुर गिरीले बताउनुभयो ।

अहिलेको महङ्गीमा सरकारले उपलब्ध गराएको १५ रुपियाँले एउटा अण्डा समेत किन्ने पैसा नपुग्ने भएकाले उनीहरूले पेटभरी खाजा खान नपाएको उहाँले गुनासो गर्नुभयो ।

निर्देशिकामा प्रत्येक विद्यालयले समिति गठन गर्नुपर्ने भएपनि अहिलेसम्म जिल्लाका धेरै विद्यालयले समिति गठन गरेका छैनन् । विद्यालयले आफ्नै हिसाबले विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छन् ।

शारदा नगरपालिका–१ शितलपाटीस्थित शिवजन माविका प्रद्यानाध्यापक हिरालाल नेपालीले सरकारले हरेक दिन के खाजा खुवाउने भन्ने वर्गीकरण गरेपनि उपलब्ध गराएको रकम धेरै कम भएकाले वर्गीकरण अनुसार खाजा खुवाउन नसकेको बताउनुभयो । विद्यालयले खुवाएको खाजाले नपुग्ने भएकाले विद्यार्थीहरू अझै पनि पसलमा गएर जङ्कफुड किनेर खाने गरेको उहाँले जानकारी दिनुभयो ।

‘स्थानीयस्तरमा उत्पादित वस्तुलाई खाजाको रुपमा प्रयोग गर्न गत वर्षसम्म अभिभावकलाई दिवा खाजाको व्यवस्था गर्न जिम्मा लगाउँदा बालबालिकाले राम्रोसँग खाजा खान पाएनन्, उहाँले भन्नुभयो, ‘अहिले विद्यालयले क्यान्टिनलाई जिम्मा दिएको छ । तर सरकारले उपलब्ध गराएको १५ रुपियाँले खाजा खुवाउन गाह्रो भएको छ ।’

कुनै विद्यालयले क्यान्टिन तथा स्थानीयलाई, कुनैले अभिभावकलाई जिम्मा दिएका छन् भने केहीले मात्रै आफैंले बनाएर खुवाउने गरेका छन् । पसलमा पाइने जङ्क फूडलाई प्रतिबन्ध लगाउँदै स्थानीयस्तरमा उत्पादित वस्तुबाटै दिवा खाजा खुवाउने भनेपनि अहिलेपनि बालबालिकाहरू बेलाबखत अझैपनि पसलबाट किनेका खाजा खान बाध्य छन् ।

जिल्लाका ५ सय सामुदायिक विद्यालयका १ देखि ६ सम्मका ३५ हजार बालबालिकाले दिवा खाजा खाने गरेको जिल्ला शिक्षा तथा समन्वय इकाइ कार्यालय, सल्यानले जनाएको छ ।

शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले पालिकाका ५८ विद्यालयका ३ हजार ६ सय ९८ ले दिवा खाजा खाँदै आएपनि विभिन्न किसिमका गुनासो बढ्दै गएको र बालबालिकाले राम्रोसँग खाजा खान नपाएको बताउनुभयो । रकम कम भएकाले नै विद्यालयले उचित व्यवस्थापन गर्न नसकेको उहाँले बताउनुभयो ।

छत्रेश्वरी गाउँपालिका सल्यानका शिक्षा शाखा प्रमुख केशर ओलीले रकम कम भएकाले मापदण्ड अनुसार विद्यालयले खाजा खुवाउन नसकेको बताउनुभयो । नगरपालिकाले सबै विद्यालयमा गएर दैनिक अनुगमन गर्न नसक्दा पनि प्रभावकारी नदेखिएको उहाँको भनाइ छ । पालिकाका ४० विद्यालयका ३ हजार बालबालिकाले खाजा खाइरहेको उहाँले बताउनुभयो ।

जबसम्म विद्यालय र अभिभावक जिम्मेवार बन्न सक्दैनन् तबसम्म दिवा खाजा कार्यक्रम प्रभावकारी हुन नसक्ने कपुरकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश आचार्यले बताउनुभयो । पालिकाले सधैं अनुगमन गर्न नसक्ने भएकाले केही विद्यालयमा समस्या देखिएको उहाँले स्वीकार गर्नुभयो ।

‘सरकारले उपलब्ध गराएको रकमले विद्यार्थीलाई खाजा खान पुग्दैन । अनुगमन नगर्दा कसले के खुवायो थाहा पाउन सकिँदैन, समस्या छ, उहाँले भन्नुभयो, ‘हामीले प्रत्येक महिनामा हुने बैठकमा प्रअलाई सल्लाह दिँदै आएका छौं । सबैले पालना गरेका छन् छैनन हेर्न बाँकी छ ।’
पालिकाले निगरानी गर्न नसक्नु, सरकारले उपलब्ध गराएको रकममा थप गर्न नसक्नु, विद्यालय र अभिभावकले कम चासो दिनुले केहीविद्यालयका बालबालिकाले नियमित दिवा खाजा खान नपाएका जस्ता गुनासो सुन्न परेको बनगाड कुपिन्डे नगरपालिकाकी शिक्षा शाखा प्रमुख धुर्वाकुमारी थापाले बताउनुभयो ।

पालिकाका ६५ विद्यालयका झन्डै ५ हजार विद्यार्थीको खाजाको लागि अधिकांश विद्यालयले अभिभावकलाई जिम्मा लगाएका, अभिभावक कामकाजमा व्यस्त हुने गरेकाले समस्या सृजना भएको उहाँले बताउनुभयो ।

PhotoSalyan20220916


मिना बुढाथोकी