दार्चुला र बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

दार्चुला र बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार स्थानीय तहहरूले औषधि खरिद गर्न नसक्दा जिल्लाभरका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका हुन् ।

स्वास्थ्य संस्थाहरूमा सिटामोलसमेत अभाव रहेको घुसा स्वास्थ्यचौकीकी अनमी पार्वती जागरीले बताइन् । 'दसैँ तिहारदेखि नै औषधि अभाव भएको हो ।'-उनले भनिन्-'औषधि सकिएको छैन । स्वास्थ्य संस्थाका इञ्चार्ज र अन्य कर्मचारी बिदाबाट फर्किएका छैनन् ।'

घुसा स्वास्थ्य चौकीमा सिटामोलसमेत नहुँदा सामान्य उपचारका लागि पनि जिल्ला अस्पताल खलङ्गा पुग्नुपरेको स्थानीय प्रेमसिंह कार्कीले बताए ।

खण्डेश्वरी स्वास्थ्यचौकी, गुल्जर स्वास्थ्यचौकी, सुनसेरा स्वास्थ्यचौकी, रानिशिखर स्वास्थ्यचौकी, हुती स्वास्थ्यचौकी, धारी स्वास्थ्यचौकी, लाली स्वास्थ्यचौकीलगायतले औषधि अभाव भएको जनाइएको छ ।

सरकारले औषधि खरिद गर्न स्थानीय तहमै रकम पठाए पनि समयमै औषधि खरिद नहुँदा अभाव भएको बताइएको छ । अहिलेसम्म स्थानीय तहहरूले औषधि खरिद गरेका छैनन् । 'केहि समयअघि जिल्ला स्वास्थ्य कार्यालयमा बचत रहेको औषधि सबै तहहरूलाई दामासाही तरिकाले वितरण गरेका हौ ।'-जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. रविरञ्जन शाहले भने-'अहिले स्वास्थ्य संस्थाहरूमा औषधि उपलब्ध गराउने जिम्मेवारी सबै स्थानीय तहलाई छ ।'

अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, व्यास गाउँपालिका र दुहु गाउँपालिकामा औषधि अभाव देखिएको हो । 'औषधि खरिदको लागि भर्खर प्रक्रिया थालनी गरेका छौँ ।'-अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले भने-' बजेट थोरै पठाएको कारण औषधि खरिद के कति गर्ने ? भन्ने विषयमा अन्योल रहेको छ ।' गाउँपालिकालाई औषधिको लागि १ लाख रुपैयाँ मात्र वार्षिक बजेट दिएको छ । बाँकी रकम गाउँपालिकाले थप गरेर औषधि खरिद गरिने उनले बताए ।

'सरकारले दिने भनेको सबै प्रकारका निःशुल्क औषधि स्वास्थ्य संस्थामा अहिलेसम्म कहिल्यै देखेका छैनौँ ।'-खण्डेश्वरी स्वास्थ्यचौकीका अहेब राजेन्द्र धामीले भने-'अब स्थानीय तहले औषधि खरिद गरेपछि आउन सक्छ ।' सरकारले स्थानीय तहमै औषधि खरिद गर्न रकम पठाएको भए पनि निकै थोरै रकम भएकाले खरिद गरिने औषधि एक महिनाभन्दा बढी नपुग्ने अवस्था आएको अपि हिमाल गाउँपालिका अध्यक्ष मन्याल बताउँछन् ।

इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार औषधि खरिदको अधिकार स्थानीय तहमा गएपछि बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ ।

स्थानीय तहहरूले औषधि खरिद प्रक्रियाको ढिलाइ गरेका कारण स्वास्थ्य संस्थाहरूमा औषधि आभव भएको हो । अहिले बैतडीका स्वास्थ्य संस्थाहरूमा सिटामोलको समेत अभाव भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । डिलाशैनी र सिगास गाँउपालिकालगायतका स्थानीय तहहरूले अझै पनि औषधि खरिद गरेका छैनन् ।

जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सरकारको नीति भएपनि हाल जिल्ला अस्पताल बैतडीमा सबै प्रकारका औषधिहरू नरहेको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए । स्वास्थ्य चौकी र अस्पतालबाट वितरण हुने औषधि नपाँउदा बिरामीहरू मेडिकलबाट औषधि खरिद गर्न बाध्य छन् ।

"स्वास्थ्य संस्थामा औषधि नपाँउदा उपचारका लागि आउने बिरामीहरू मारमा परेका छन् ।"-स्थानीय पदम रोकायाले भने । औषधि खरिदका लागि प्रक्रिया अगाडि बढाएको र अब छिटै स्वास्थ्य संस्थाहरूमा औषधिको उपलब्धता हुने दशरथचन्द नगरपालिकाका उपमेयर मीना चन्दको भनाई छ ।

स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई त्यति अनुभव नभएकाले पनि स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको स्थानीय प्रेम भाटले बताए ।

"सबै औषधिको अभाव त छैन तर बिरामीले निःशुल्क पाउनु पर्ने सबै प्रकारका औषधिहरू बिरामीले नपाएको कुरा साँचो हो ।"-जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेण्ट सन्तोष पाण्डेयले भने ।


अनलाइन डेस्क