दार्चुलामा १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील

  ०७९ असोज २८ गते

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सुरक्षा सम्वेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा जिल्लाका १ सय १२ ओटा मतदान केन्द्रमध्ये १४ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी दिर्धराज उपाध्यायले जानकारी दिनु भयो ।

जिल्ला सुरक्षा समितिले २३ ओटा मतदान केन्द्रलाई सम्वेदनशील, ७५ ओटा केन्द्रलाई सामान्य र १४ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशीलमा वर्गीकरण गर्दै सोही अनुसारको सुरक्षा योजना तर्जुमा गरिने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहँुच, गत वैशाख महिनामा सम्पन्न भएको स्थानीय तहको चुनावको समीक्षासहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अति सम्वेदनशील र सम्वेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने छ ।’

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख तथा डिएसपी तर्कराज पाण्डेले निर्वाचन सामग्री लैजाने र मतदानको दिन र मतदानपश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन पनि मतदान केन्द्रहरुको सम्वेदनशीलताका आधारमा गरिने तथा अति सम्बेदनशील र सम्बेदनशील मतदान केन्द्रमा सुरक्षा रणनीति मजबुद गरिने बताउनु भयो ।

दलहरूबीचको अस्वस्थ प्रतिस्पर्धा, भौगोलिक विकटतालगायतका कारण सम्वेदनशीलता छुट्याइएको डिएसपी पाण्डेको भनाइ छ ।

सम्वेदनशील भएका मतदानस्थलहरूमा कस्तो सुरक्षा व्यवस्थापन मिलाउने भन्नेबारे सुरक्षा निकायसहित स्थानीय तहहरूसँग समन्वय गरी हरेक स्थानीय तहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको उपस्थिति रहने र पहिलो घेरोभित्र रहेको सुरक्षा फौजलाई थप मदत पुर्याउने गरी ३० मिनेट भित्रै व्याकअप फोर्स पुग्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।

जिल्लाको मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र दुहु गाउँपालिकामा रहेका मतदान स्थलहरु अति सम्वेदनशील सूचीमा रहेकाछन् । मतदान केन्द्रको सम्वेदनशीलताका आधारमा चार ओटै सुरक्षा निकाय एकसाथ परिचालन गर्ने नीति बनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ४३ हजार ६ सय ११ महिला सहित ८९ हजार १ सय ५४ मतदाता रहेकाछन् ।


नरेन्द्रसिह कार्की