दार्चुलाका हिमाली गाविसहरू खाद्य असुरक्षित

दार्चुलाका हिमाली गाविसहरू खाद्य असुरक्षित रहेको एक प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय दार्चुलाले मङ्सिर ११ गते सार्वजनिक गरेको दार्चुला जिल्लाको खाद्य अवस्थासम्बन्धी प्रतिवेदनमा हिमाली गाविसहरू खाद्य असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

डब्लुएफपी र जिल्ला कृषि विकास कार्यालयले साउनदेखि कात्तिकसम्मको अवस्था विश्लेषण गरी सार्वजनिक गरेको प्रतिवेदनले हिमाली गाविसमा अझै खाद्य असुरक्षित रहेको उल्लेख गरेको छ ।

'अबको दोस्रो चौमासिकमा दार्चुलाका हिमाली गाविसहरू झनै खाद्य असुरक्षित हुनेछन् ।'-वरिष्ठ कृषि विकास अधिकृत सुर्यप्रसाद बरालले भने-'अहिले सबै मध्यमस्तरीय खाद्य असुरक्षित रहेका गाविसहरू आगामी दिनमा उच्चस्तरीय खाद्य असुरक्षित हुनेछन् ।'

मङ्सिरदेखि खाद्य सञ्चिती घट्दै जाने, बजार मूल्यमा निरन्तर बृद्धि हुँदै जाने गरेको कारण पनि खाद्य असुरक्षा बढ्दै जाने बताइएको छ । अहिले खाद्यान्न भित्रिएको, वन पैदवार जडिबुडी विक्री वितरण भएको कारण पनि केही सहजता भएपनि दोस्रो चौमासिकमा समस्या उत्पन्न हुने देखिएको बरालको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले दार्चुलाका समूह 'क' मा १० ओटा गाविस, समूह 'ख' मा ८ ओटा गाविस र समूह 'ग' मा १९ ओटा गाविस रहेका छन् । खाद्य असुरक्षाको हिसाबले समूह 'ग' का गाविसहरू बढी जोखिममा रहेका छन् ।

पहिलो चौमासिकमा हिमाली क्षेत्रका २० ओटा गाविसका ६ हजार ३ सय ५० घरधुरीले गैरकाष्ठ वन पैदावर यार्सागुम्बा लगायतबाट झण्डै ५२ करोड ५० लाख रुपियाँभन्दा बढी नगद आर्जन गरेको देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको बैठकले खाद्य असुरक्षित हुने क्षेत्रहरूको पहिचान गर्ने निर्णय गरेको छ । बढी खाद्य असुरक्षित हुने क्षेत्रको थप पहिचान गरी खाद्य संस्थान अञ्चल कार्यालय धनगढीसँग समन्वय गर्ने निर्णय भएको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका योजना अधिकृत महेशचन्द्र जोशीले बताए ।

अहिलेको उत्पादन अनुसार पनि दार्चुलामा अझै ७ हजार ८ सय २ मेट्रिक टन खाद्यान्न जिल्लाबासीको लागि अपुग छ । जिल्लालाई चाहिने कूल २६ हजार ७ सय ८८ मेट्रिक टन खाद्यान्न मध्ये हाल जिल्लामा १८ हजार ९ सय ८६ मेट्रिक टन मात्र उपलब्ध हुँदै आएको बताइएको छ ।


नरेन्द्रसिह कार्की