दाम्लोले बाँधेर राखिँदै छ धादिङका बौद्धिक अपाङ्गता भएका नागरिकलाई

बौद्धिक अपाङ्गता भएकालाई राज्यले सम्रक्षण गरेर राख्ने व्यवस्था भए पनि धादिङमा अपाङ्गता भएका नागरिक दाम्लोमा बाँधिएर बस्न बाध्य भएका छन् ।

पाँच वर्षदेखि घरमा नबस्ने भएपछि गङ्गाजमुना गाउँपालिका-३, पोखराका २० वर्षीय मदनकुमार तामाङलाई दाम्लोले बाँधेर राखिएको छ । घरमा नबस्ने, आफू मेलापात जानु पर्ने भएकोले उहाँको जीउ बचाउन दाम्लोले बाँधेर राख्नु परेको उहाँको आमा मनमायाँले बताउनु भयो ।

गरिब परिवारको तामाङ पहुँच नभएको समुदायका व्यक्ति भएकोले घरमा भएको टिनको छानोमुनी चिसो समयमा बाँधिएर बस्दा थप मानिसक पीडा हुने गर्छ तर गरिबीका कारण बाध्यताले गर्दा बाँधेर राख्नुपरेको मनमायाँको भनाइ छ । अपाङ्गता परिचयपत्र बनाईएको मदनकुमारले सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ । गङ्गाजमुना गाउँपालिकाका कर्मचारिको सहयोगमा गाउँपालिका अध्यक्ष भक्त लामाले उहाँहरूलाई सामान बितरण गर्नुभयो । गाउँपालिकाले भने खास सहयोग उपलब्ध गराएको छैन ।

यता ज्वालामुखी गाउँपालिका-५, जौकारीका १४ वर्षीय रोषन र १७ वर्षीय सोमबहादुर गुरुङलाई पनि परिवारले बाँधेर राख्ने गरिएको छ । मानसिक रूपमा समस्या आएका कारण घरमा नबस्ने भएपछि परिवारले नै बाँधेर राखी काममा जाने गर्नुपरेको हजुरआमा कान्छी गुरुङले बताउनु भयो ।

सोमबहादुर बोल्न र सुन्न सक्नुहुन्न भने रोषन हिँड्डुल गर्न र बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । बाँधेर राखिएका बालकका बुबा शिव गुरुङ पनि शारीरिक अपाङ्गता हुनुहुन्छ । ज्वालामुखी गाउँपालिका-५, माझजौबारीका १७ वर्षीय सन्तोष गुरुङलाई पनि परिवारले डोरी बाँधेर राख्नु परेको छ । बौद्धिक अपाङ्गताको समस्यामा हुनुभएका गुरुङको परिवार काममा जाँदा बाधेर जानेगरेका छन् ।

सिद्धलेक गाउँपालिका-५ मा १२ वर्षीय बालकलाई घरमा मानसिक समस्याका कारण घरमा थुनेर राखिएको छ भने निलकण्ठ नगरपालिका-४ की एक महिलालाई पनि थुनेर राखिए पनि स्थानीय सरकारले वास्ता गर्न सकेको छैन । ज्याला गर्नुपर्ने, कमाएर खानु पर्ने र घरमा बसेर कुर्न नभ्याउने भएपछि बाँधेर राख्नु पर्ने बाध्यता आएको परिवारको भनाइ छ ।

अपाङ्गता भएकालाई बाँधेर राखिएको सम्बन्धमा सिद्धलेक गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले यसरी बाँधेको बारे परिवारले स्पष्ट सूचना नदिने गरेको र यस किसिमका अपाङ्गता भएकालाई स्थानीय सरकारले उद्धार गर्न सघाउने बताउनुभएको छ । गङ्गाजमुना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले भने बौद्धिक अपाङ्गता परिचयपत्र यस्ता व्यक्तिको घरमै पुगेर दिएको बताउँदै स्थानीय सरकारले अपाङ्गता भएकाहरूका लागि काम गर्ने बताउनु भयो ।

अपाङ्गता भएकामध्ये अति अशक्तलाई सरकारले पुनस्थापना गरी संरक्षण गर्ने व्यवस्था भए पनि ज्वालामुखी गाउँपालिकाले यसतर्फ ध्यान दिन सकेको छैन । सामाजिक सुरक्षाको अवधारणा अनुसार अपाङ्गता भएकाहरूको सहज जीवनयापनका लागि राज्यको दायित्व हुने भए पनि बेखबर रहने गरेको अपाङ्गता क्षेत्रमा काम गर्दै आउनुभएका गुणराज खतिवडाले बताउनु भयो । पुनस्थापना केन्द्र बनाउन, व्यवस्थापन गर्न अपाङ्गताको विषयमा धेरै माग गर्दा पनि बेवास्था गरेको उहाँले बताउनु भयो ।


सीताराम अधिकारी