दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित विरुद्ध उजुरी

  ०७९ जेठ १३ गते

मलङ्गवा नपा–७ माइती घर भएकी २१ वर्षीया फुलकुमारी महतोलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद १ लाख रुपियाँ नल्याएको भन्दै जेठ ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका २४ वर्षीय पति विजय महतोविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ १२ गते उजुरी दिनु भएको छ ।

पतिको कुटपिटबाट फुलकुमारीको बायाँ कान र दायाँ आँखामा चोट लागेको तथा बायाँ गोडामा चार ओटा टाँका लगाइएको पीडितका बुबा ४५ वर्षीय ननिपत महतोले बताउनु भयो ।

घाइते महिलाको सामान्य उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरी थप उपचारका लागि काठमाडौँ लगिएको महतोले जानकारी दिनु भयो ।

पीडित फुलकुमारी र आरोपित विजय महतोबिच ०७८ जेठ १२ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो ।

विवाहमा ८० हजार रुपियाँ र आठ आना सुन दिएपनि फुलकुमारीलाई थप दाइजो नल्याएको भन्दै कुटपिट गर्ने गरेको पीडित महिलाका बुबाले आरोप लगाउनु भएको छ ।

घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो । आरोपित ‘फरार’ भएकाले खोजतलास जारी रहेको डिएसपी बुढाथोकीले बताउनु भयो ।


बुधन साह