दाइजोविरुद्धको कसुरदारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

  ०७९ पुस २३

दाइजो तथा घरेलु हिंसाविरुद्धको कसुरमा रामगोपालपुर नपा–५ का डा. पंकज चौधरीलाई जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले पुस २२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

पति पंकज विरुद्ध पत्नी नेहाले ०७९ असोज २१ गते महोत्तरी जिल्ला अदालतमा घरेलु हिंसा विरुद्ध निवेदन दिई कात्तिक ४ गते उजुरी गर्ता गराएकी हुन् भने मङ्सिर १९ गते सोही अदालतमा दाइजोका विरुद्धमा पनि मुद्दा दायर गरेकी थिइन् ।

गत वर्षको फागुन २५ गते औरही–१ की नेहा र रामगोपालपुर नपा–५ का डा. पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुक मार्फत दाइजोका नाममा पति र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको सार्वजनिक गरेकी थिइन् ।

पंकजले आफूलाई घरमै छाडेको र काठमाडौंमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन् । साथै पंकजले विवाहअघि नै २५ लाख रुपियाँ दाइजो लिएको नेहाको दाबी छ ।

नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले पति पंकज र परिवारका सदस्य विरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छिन् भने उनका पति पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

जाहेरीवाली नेहाको तर्फबाट महोत्तरी जिल्ला सरकारी वकिल मनोज कुमार गुप्ता र रिंकु कुमारी यादवले बहस गरेका थिए भने पंकजको तर्फबाट विजय ठाकुर र शंकर गुवाजुले बहस गरेका थिए ।

 


अजयकुमार साह