दाइजोको विषयमा विवादः बेहुला सहित बेहुला पक्षका पाँच जना प्रहरी नियन्त्रणमा

  ०८० फागुन ३० गते

वीरगंज महानगरपालिका–२४ रामगढवामा ०८० फागुन २८ गते राति दाइजोको विषयमा विवाद भएको छ । विवाद भएपछि विवाह छोडी जान लागेका बेहुला सहित बेहुला पक्षका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय श्रीपुरले सोही राती नियन्त्रणमा लिएको छ ।

दाइजो स्वरुप सुनको सिक्री नदिएको भन्दै बेहुला तथा बेहुला पक्षका आफन्तहरूले बेहुली पक्षकाहरूसँग बाद–विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेकोले बाराको कलैया उपमहानगरपालिका–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), बेहुलाका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश साह र ४० वर्षीय मुकेश साह, र परवानीपुर नगरपालिका वडा नं ५ का आनन्द साह (बेहुलको भिनाजु) सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विवाहमा दाइजो स्वरुप सुनका गहनाहरू, नगद, मोटरसाइकल, ल्यपटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भन्दै बेहुला पक्षले बेहुली पक्षसँग विवाद तथा हातपात गर्दै विवाह छोडी जान लागेको भन्ने मौखिक सूचना प्राप्त हुनासाथ बेहुला सहित बेहुला पक्षका पाँच जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका इन्स्पेक्टर धर्मजंग थिङले जानकारी दिनु भयो । उहाँले छलफलमा सहमति जुट्न नसकेपछि नियन्त्रणमा लिइएका बेहुलासहितका पाँच जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताउनु भयो ।

साथै नियन्त्रणमा लिइएको पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले विवाह सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

बेहुला उमेश साह वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।

बेहुलीका भाइका अनुसार बेहुली पक्षले दाइजोमा बेहुला पक्षलाई नगद ८ लाख ५० हजार रुपियाँ, मोटरसाइकल बापत नगद ३ लाख २५ हजार रुपियाँ, ६५ हजार रुपियाँको एक थान ल्यापटप, ४० हजार रुपियाँ मुल्यको सुनको सिक्री विवाह अगाडि नै दिइसकेको थियो ।

तर, फागुन २८ गते राति विवाहको मण्डप मै बेहुला र बेहुला पक्षले दाइजोमा थप सुनको सिक्री नपाएको निहुँ खोजेपछि हातपात भएको उहाँले बताउनु भयो । साथै फागुन २९ गते विहान वडा प्रहरी कार्यालय श्रीपुरमा दुई पक्षबीच भएको छलफल क्रममा सहमति जुट्न सकेन उहाँले बताउनु भयो ।

त्यस्तै, बेहुलीले उमेशसँग विवाह नगर्ने अडान राखेकी छिन् । उनले भनिन “दाइजोकै लागि मेरो घरपरिवारको इज्जत लिलाम गर्ने केटासँग म विवाह गरेर बस्न सक्दिन । म उसँग कुनैपनि हालतमा विवाह गर्न सक्दिन ।’ उनले थपिन्,‘ दाइजोकै लागि मजस्तै अरुपनि चेलीबेटी र उसको परिवारको यस्तो नहोस अनि दाइजोका लोभीलाई सबक होस् भनेर मैले यो निर्णय लिएकी हुँ ।’


शम्भुकुमार सुमन