जातीय विभेद घटनामा मिलापत्र

भुम्लु गाउँपालिका-२, सिम्थली डाँडाखर्कका धर्मध्वज (सुनिल) भण्डारीले ०८० माघ १४ गते जातीय विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको घटनामा माघ २१ गते मिलापत्र भएको छ ।

ब्राम्हण माधव न्यौपानेले अब आइन्दा जातीय विभेद नगर्ने र रोकिएको श्राद्ध समेत गरिदिने भन्दै पीडित धर्मध्वज भण्डारीको परिवारसँग मिलापत्र गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

श्राद्धका लागि पूर्णिमाको दिन माघ ११ गते दिनभर भोकै उहाँहरूले ब्राम्हणलाई कुर्नुभएको थियो । दलित महिलासँग विवाह गरेकै कारण तिथिमा परेको श्राद्ध गर्न नगएको भन्ने विषयमा ब्राम्हण माधव न्यौपानेले अनविज्ञता प्रकट गर्नुभएको थियो । आफू काठमाडौँमा बस्ने भएकाले त्यता जान नभ्याएर यतै आएमा श्राद्ध गरिदिन्छु भनेको उल्लेख गर्नुभएको थियो । दलितसँग विवाह गरेको भन्ने कुरा उहाँलाई थाहा नभएन उहाँले उल्लेख गर्नुभएको थियो ।

इन्सेक अनलाईनमा ०८० माघ १२ गते 'दलितसँग विवाह गरेको भन्दै पुरेत श्राद्ध गर्न नआएको आरोप' शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारमा प्रकाशन भएपछि पीडित धर्मध्वज भण्डारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । सोही उजुरीको आधारमा प्रहरीले दुवै पक्षलाई बोलाएर माघ २१ गते मिलापत्र गराएको हो ।


सुमित्रा आचार्या