दलितले उत्पादन गरेको दुध बिकेन
भिमपोखराका दलित किसानहरूले उत्पादन गरेको दुध विक्री नभएपछि चिन्तित बनेका छन् । आफूहरूले उत्पादन गरेको दुध र दुधजन्य सामग्री विक्री नभएपछि उनीहरू चिन्तित बनेका हुन् ।
भिमपोखराका ४२ वर्षीय चिन्तामणी सुनारले दुई ओटा भैँसी पालेका छन् । गाउँमै दुग्ध सहकारी भएपनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेपछि उनले घिउ बनाउँदै आएका छन् ।
तर दलित समुदायको भएकै कारण उनले उत्पादन गरेको घिउ पनि विक्री नहुँदा उनलाई चिन्ताले सताएको छ ।
उनले भने-'दलितले उत्पादन गरेको दुध गाउँमा चलाउन गाह्रो हुन्छ भनेर सहकारीले हाम्रो दुध मिसाउदैँन । हाम्रो दुध पनि मिसाइदिए छोराछोरीले कापी कलम किन्थे, नुनचिनी किन्न समस्या हुने थिएन ।'
गाउँका मानिसहरूले दुध विक्री गरेर १० हजार रूपियाँ कमाएँ भनेर सुनाउँदा पनि मन अमिलो हुने उनको भनाई छ । 'गाईवस्तु पालौँ भने दुध विक्दैन, ज्याला मजदुरी र खेतिपाती गर्नुको अरू विकल्प छैन ।'-उनले भने-'अरूले जस्तै गरी दुध विक्री गर्न पाए व्यवसायिक रूपमै पशुपालन गर्ने ठुलो चाहना छ' ।
चिन्तामणी जस्तै भिमपोखरामा दलित समुदायका घरपरिवारहरूले उत्पादन गरेका दुध विक्री गर्न नपाउँदा भित्रभित्रै तड्पन्छन् तर उनीहरूको इच्छा कहिल्यै पुरा नहुने बताउँछन् ।
यहाँ रहेको एक सहकारीमा बारम्बार दुध मिसाउन पाउनुपर्छ भनी आन्दोलन गरेपनि सहकारीमा भएका २ जनाको शेयर समेत निकालिदिएको दलित समुदायको गुनासो छ ।
सोही गाउँकी कुमारी बिकले बारम्बारको प्रयास बिफल भएपछि अहिले मिसाउनका लागि प्रयत्न गर्नै छाडेको बताइन् । उनले तरकारी, बाख्रा, कुखुरा पाले मात्रै आम्दानी हुने भन्दै दुध बेचेर घर्रखर्च चलाउने विषय सपना मात्रै भएको बताइन् ।
'बजार टाढा छ । नजिकको बजारमा दुध विक्री हुँदैन । बोकेर लैजान नसकिएकाले अहिले घरमा उत्पादन गरेको दुध खेर गइरहेको छ ।'-कुमारी बिकले भनिन् ।
यहाँका झण्डै २५ घरधुरीले अहिले दुध विक्री गर्न नपाएको बताएका छन् । उनीहरू जस्तै नेपालका धेरै स्थानका दलित समुदाय अझै पनि विभेद खेप्न बाध्य छन् ।
काठेखोला गाउँपालिका-२ का वडा अध्यक्ष विद्यापति शर्माले गरिब, विपन्न तथा आयआर्जन कम भएकाहरूको आयस्तर बढाउनका लागि सहकारी भएकाले दलित समुदायलाई समावेश गराउनका लागि प्रयत्न गर्ने बताए ।
उनले बुझाई तथा चेतना कम भएका व्यक्तिले विभेद गरेको हुन सक्ने भन्दै विभेद अन्त्य गर्न सबैको सहकार्य आवश्यक रहेको बताए ।
अमृत दुग्ध सहकारी संस्था भिमपोखराका अध्यक्ष खगराज पौडेलले भने विभेद नगरेको उल्लेख गर्दै यहाँका दलित समुदायले दुध उत्पादन नै नगरेको बताए । उनले सहकारीको साधारणसभामा शेयर खुल्ला गरेर सबै समुदायको दुध मिसाउने गरी तयारी थालेको समेत बताए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…