दलितबस्तीमा खानेपानी अभाव, स्थानीयलाई समस्या

गाउँमा पानी ट्यांकी बनेको छ । घर नजिकै पानी धारा पनि बनेका छन् । तर, धारासम्म पानी पाईप पुगेको छैन् । खानेपानीको धारा बन्दा स्थानीय खुसी पनि भए । तर, धारामा पानी नआउँदै उपभोक्ता समितिका अध्यक्षले काम सकियो भनेपछि स्थानीय चकित हुनुभएको थियो ।

यो प्रसँग हो, शैल्यशिखर नगरपालिका–३ को जुगेपानी बस्तीको । ३७ दलित परिवार रहेको यस क्षेत्रमा ०६२ / ०६३ सालमा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयबाट खानेपानी पुर्‍याइएको थियो । तर, अहिले ती धारामा पानी छैन् । निर्माणपछि मर्मतसम्भार पनि गरिएको छैन् ।

धारामा पानी आउन छोडेपछि गाउँबाट झण्डै एक घण्टा हिडेर पानीको व्यवस्थापन गर्नु पर्ने बाध्यता सृजना भएको शैल्यशिखर नगरपालिका–३ का स्थानीय नविनराम कामीले दुखेसो पोख्नु भयो । ‘पानी ल्याउनकै लागि देथला भन्दा एक घण्टा उकालो चढ्नु पर्छ ।’ बाहिरबाट हेर्दा गाउँमा पानी पुगेको जस्तो देखिन्छ । तर, गाउँमा निर्माण गरिएका धारामा पानी नै नभएको उहाँले बताउनु भयो ।

यसगाउँमा गैरदलित समुदायका दुई परिवार मात्रै बसोबास गर्दै आउनुभएको छ । घरमा एक जनाको दिन भरी ड्युटी पानी बोक्ने मात्र हुन्छ । गाउँसम्म पुग्न राम्रो बाटो बनेको छैन् । ‘स्थानीय सरकार आएको पनि लामो समय भइसक्यो,’ उहाँले भन्नु भयो , ‘तर दलितबस्तीलाई हेपेकोहेपेई भयो ।’ धारासम्म पाइप जडान गरिएको छैन् । गाउँ भन्दा झण्डै दुई किलोमिटर टाँढा ओसिलबाट पानी ल्याइएको हो । पानीकै लागि पटकपटक सरोकारवाला निकायलाई हारगुहार पनि गरियो तर समाधान कहिबाट भएन् ।

बाहिरबाट आएर खानेपानी योजनाको काम गरिरहेको देखिए पनि गाउँमा पानी नपुग्दै योजना फरफारक भएको भन्ने जानकारी पाउने गरिएको स्थानीय पुन्टे कामीले गुनासो गर्नु भयो ।

गाउँमा पानीको अभाव भएपछि खाना पकाउन, सरसफाई गर्न, शौचालय प्रयोग गर्न, गाईबस्तीलाई पानी ख्याउन समेत समस्या उत्पन्न भएको स्थानीय कामीको भनाइ छ  ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष पदमबहादुर चन्दले आफु खानेपानी कार्यालयमा काम गर्दा दलितबस्तीमा देखिएको खानेपानी समस्यालाई समाधान गर्ने गरी योजना बनाएको भए पनि अहिलेसम्म खानेपानीका पाइप तथा धाराहरुको मर्मत नहुँदा समस्या भएको बताउनु भयो ।

दलितबस्तीमा खानेपानीको निकै समस्या भएकोले त्यो क्षेत्रमा लिफ्टिङमार्फत खानेपानी पुर्‍याउने गरी योजना माग गरेको र  खानेपानी समाधानको लागि खानेपानी विभागमा पहल भइरहेको उहाँले बताउनु भयो ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ पिउने पानी तथा सरसफाइमा पहुँचको हक हुने स्पष्ट व्यवस्था गरिएको भए पनि स्थानीयबासीहरु पिउने पानी पाउनबाट वञ्चित छन् ।

photo20240416darchula


नरेन्द्रसिह कार्की