दलितको भेटी चल्छ तर शिक्षा चल्दैन !

चन्दननाथ मन्दिर कर्णाली प्रदेशकै एक प्रसिद्ध मन्दिर हो । यसको पर्यटकीय र सांस्कृतिक महत्व पनि कम छैन । मन्दिर छेउमै बाहुन र क्षेत्रीले मात्रै पढ्ने गरेको गुरुकुल पाठशाला छ । मन्दिरमा हरेक दिन जोसुकै व्यक्तिहरू आउँछन् । भेटी दान दक्षिणा चढाउने बेलामा दलित भनेर हेरिँदैन । भेटी पाठशाला सञ्चालनका लागि आवश्यक सहयोगका रूपमा सङ्कलन् गर्ने परिपाटी पनि छ ।

उक्त संस्कृत पाठशालाका लागि भन्दै परियार, सार्की, कामी, दमाई सबैले चन्दा दान दक्षिणा भेटी चढाउने गर्दछन् । भेटी दानका रूपमा दिइने एउटा ‘कर’ जस्तो पनि हो । कर तिरेको वस्तुलाई जनताले उपभोग गर्न पाउनु पर्ने आधुनिक लोकतन्त्रको सिद्धान्त पनि हो । पाठशालाको बृद्धि विकासका लागि, पाठशालामा दलितकै भेटी चन्दा, दान दक्षिना चल्ने तर दलितका छोराछोरी भने संस्कृत शिक्षामा छूवाछुतका कारण नचल्ने भएका छन् ।

दलितले संस्कृत पढ्न पाएनन्

पछिल्ला दिनमा विशेष गरी गणतन्त्र आएसँगै संस्कृत शिक्षा पनि विना भेदभाव पढ्न पाउने कुरा ग्यारेण्टी संविधानमा गरिएको छ । तर, जुम्लास्थित चन्दननाथ गुरुकुल संस्कृत पाठशालामा भने यसको ठिक उल्टो छ । यहाँ दलित विद्यार्थीले संस्कृत पढ्न जाँदा विद्यालयबाटै निराश बनाएर फर्काइन्छ । दलित बालबालिकाले चाहेर पनि संस्कृत पढ्न नपाउने वातावरण छ । यसबारे विद्यालय प्रशासन नै दोषी रहेको स्थानीय तथा दलित समुदायका व्यक्तिहरूको आरोप छ । दलितका नाममा कोटा पनि भएको सुनिन्छ तर, जब एउटा दलितको सन्तान पढ्न भनेर त्यहाँ जान्छ प्रधानाध्यापकले भर्ना सकिएको भन्दै भर्ना लिन मान्दैनन् । प्रधानाध्यापकले संस्कृत पाठशालामा भर्ना खुलेको प्रचारप्रसार भने स्थानीय रेडियो र पत्रपत्रिकाबाट गर्न भने छोडेका छैनन् ।

प्रधानाध्यापक ज्यू चन्दननाथ गुरुकूल पाठशालामा भेदभाव किन ? यो प्रश्नको जबाफ दिँदा पाठशालाका प्रधानाध्यापक धेरै पटक लर्बराउँछन् । चित्तबुझ्दो जबाफ दिन सक्दैनन् । विभिन्न बाहना बनाएर संस्कृत पढ्न आउने दलितका छोराछोरीलाई भर्ना लिन भने उनी नै मान्दैनन् । तयार छैनन् किन ? के संस्कृत शिक्षा बाहुन क्षेत्रीको पेवा हो ? के यो शिक्षा यसैगरी कथित उपल्लो जातीहरूले मात्र पढ्ने शिक्षा हो ? संस्कृत पढाउने भन्नेहरूबाटै भएको यस्तै छुवाछुतले गर्दा कुनै जमानामा सामुदायिक विद्यालयमा अनिवार्य रहेको संस्कृत पाठ्यक्रम आगो लगाइएको थियो भने उक्त घटनापछि यतिबेला पाठ्यक्रमबाट समेत हट्न पुगेको अवस्था छ । संस्कृत शिक्षामा विश्वको आकर्षण हुँदाहुँदै पनि विकर्षण फैलाउने काम नेपालका कथित ब्राह्मणहरूले नै किन गरिरहेका छन् ? संस्कृत पढेर, वेद अध्ययन गरेर, टुप्पी र जनै लगाएर यज्ञ चलाउन थाल्दा, नेपालमा रहेका कर्मकाण्डीहरूको सोचमा परिवर्तन नआउँदा चन्दननाथ जस्ता संस्कृत पाठशालामा विद्यार्थीहरू पढ्नबाट वञ्चित हुनु परेको यहाँका स्थानीयहरूको निष्कर्ष छ । गएको शैक्षिक सत्रमा दुईजना दलित विद्यार्थी आउँदा भर्ना समय सकिएको भन्दै फिर्ता पठाएको समेत जानकारी भएको थियो । दलितका सन्तान पढ्न भनेर जाँदा भर्ना मिति सकिएको निहुँमा फिर्ता पठाएको दलितहरूको ठहर छ ।

चन्दन्नाथ मन्दिर भित्रै सञ्चालन भइरहेको गुरुकुल पाठशालामा सबै बाहुन, बालबालिका मात्रै अध्ययन गरिरहेका छन् । कक्षा ४ सम्म सञ्चालन भइरहेको संस्कृत विद्यालयमा ५० जना विद्यार्थी अहिले अध्ययनरत छन् । अघिल्लो वर्षका विद्यार्थीलाई काठमाडौँ पठाइएको विद्यालयले जनाएको छ । तर, सयौँ दलितका छोराछोरी इच्छा हुँदा पनि दलित भएकै कारण संस्कृत पढ्न पाएका छैनन् । पहिलेदेखि दलितले संस्कृत पढ्न हुन्न भन्ने भ्रम दलितमा जरा गाडेर बसेको छ । त्यहाँ माथि विद्यालयले पनि यस्तै बेइमानीले मलजल गर्ने गरेको देखिन्छ । केबल बाहुन क्षेत्रीहरूले मात्रै संस्कृत पढ्ने हो, र यो शिक्षा दलितलाई काम लाग्दैन भन्ने भ्रम यहाँ फिँजाइएको छ । ‘शिक्षा क्षेत्रमा पनि जातीय विभेद हामीले बुझेका छौँ’–सूर्य दमाईले भने–‘२०६९ सालबाट पाठशाला सञ्चालन भएको हो । अहिलेसम्म पनि एकजना दलितका छोराछोरी पढ्न नआउनुको कारण नै दलितले पढेर काम लाग्दैन भन्ने भ्रम फैलाएको छ । हामीले पनि संस्कृत पढ्न पाउनु पर्छ ।’

यस्तो छ सरोकारवालाहरूको प्रतिक्रिया

‘यस विषयमा स्थानीय सरकार र प्रशासनको ध्यानकर्षण गराउँछौँ ।’–दलित अगुवा तथा जिल्ला समन्वय समितिका सभापति लालबहादुर सार्कीले भने–‘दलितका छोराछोरीले पनि संस्कृत शिक्षा आर्जन गर्न पाउनु पर्छ । शिक्षा आर्जन गर्ने कुनै पनि शैक्षिक संस्थामा जातीय विभेद गर्नु कानुन विपरीत हो । यहाँ दलितले संस्कृत पढ्न हुन्न भन्ने भ्रम फैलाएको छ ।’ समावेशी रूपमा सबैले पढ्न पाउनुपर्छ भन्नेबारे सूचना सम्प्रेषण नगरेकै कारण समस्या निम्तिएको दलित समुदायको बुझाई रहेको उनले बताए ।

दलितलाई संस्कृत पढ्न अङ्कुश नलगाएको चन्दननाथ गुरुकुल पाठशालाले दावी गरेको छ । ‘हामीले भर्नाको सूचना प्रशारण गर्दा नै स्पष्ट पार्न सकेनौँ ।’–पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले भने–‘त्यसैकारण दलितले पढ्न हुँदैन । पढेर के काम भन्ने जस्ता भ्रम फैलिनु स्वभाविक हो ।’ पाठशाला सरकारबाट सञ्चालित शैक्षिक संस्था हो । यसमा जातीय रोकछेक नभएको भन्दै भर्ना गर्दा संस्कृत शिक्षा पनि समावेशी सबैका लागि नभनेकै कारण अहिले विभिन्न टिकाटिप्पणी सुन्नु परेको प्रधानाध्यापक उपाध्यायले स्वीकार गरे । ‘यस विषयमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।’–उनले भने ।

आगामी शैक्षिक सत्रबाट दलितका छोराछोरी पनि पढ्ने वातावरण बनाइने पाठशालाका व्यवस्थापन समितिका अध्यक्ष दयादत्त हमालले बताए । अध्यक्ष हमालले भने–‘अहिले ४ कक्षासम्म पढाई भइरहेको छ । दलित कोही नभएको बताउँदै उनले दलित नआउने भएकै कारण सरकारले दिने छात्रवृत्ति पनि काटिएको बताए । ‘सबै बाहुनका मात्रै छोराछोरी अध्ययन गर्ने भएकै कारण दलित आउन सकेका छैनन्, आवश्यक वातावरण भए समाबेशी रुपमा शिक्षा दिन सकिन्छ ।’–अध्यक्ष हमालले भने । उक्त पाठशालामा बाहुन क्षेत्रीका १६ जना छात्रा र ३४ जना छात्र गरी ५० जना नियमित अध्ययनरत छन् ।


मानदत्त रावल