दलितको घरमा भोज खाएको भन्दै सामाजिक बहिष्कार
दलितको घरमा भोज खाएको भन्दै सोनमा गाउँपालिका—४ खेसराहाका भिखारी महतोको परिवारलाई समाजले बहिष्कार गरेको हो ।
गत पुस १९ गते महतोले गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएपछि उनि सामाजिक बहिष्कारमा परेका हुन् । तेस्रो सन्तानको रुपमा छोराको जन्म भएको खुसीमा जन्मेको छैठौ दिनमा हुने छठिहार तथा न्वारणको दिन शुभनारायणले साधुसन्तहरूको लागि भोज तथा भण्डारा गरेका थिए । सोही भोजमा महतो पनि सरिक भएकोले उनी महतो (कोइरी) समुदायबाट बहिष्कृत भएका हुन् ।
‘उनीहरूले मलाई जातबाट निकालिदिएको’ महतोले सुनाउनुभयो, ‘सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने अडान उनीहरूले लिएका छन् ।’ स्थानीय रामचन्द्र महतो, शंकर महतो, सितो महतो, जवाहर महतो, रामसृष्ठ महतो, दुखा महतो लगायतले चमारको घरमा गएर भोज खाएको निहुँमा पञ्चायतमा दुर्व्यवहार समेत गरेको भिखारी महतोले गुनासो गर्नुभयो ।
शुभनारायणको घरमा भोज खाएयता भिखारीलाई गाउँघरमा हुने कोइरी, यादव समुदायको कुनै पनि भोजमा सरिक हुन दिइएको छैन । घटना पश्चात महतोले दोषीहरुमाथि कारबाही र न्याय माग्दै इलाका प्रहरी कार्यालय गौशालामा माघ ५ गते उजुरी दिएका छन् । तर उजुरीमाथि प्रहरीले खासै चासो नदिएको उहाँको आरोप छ ।
शुभनारायणले पनि भिखारीलाई आफ्नो घरमा भोज खाएको निहुँमा अछूत भनेको बारे जानकारी दिनुभयो । दलित भएपनि शुभनारायणको परिवार पनि वैष्णव हुन् । घरमा कोही माछामासु खाँदैनन् । धार्मिक सत्संग, प्रवचनमा सरिक हुन्छन् । महतोले आफूले कहिल्यै पनि तल्लो–माथिल्लो जातको भनेर भेदभाव नगरेको बताउनुभयो ।
‘म जातीय छुवाछूत मान्दिनँ । दलितको भोज खाएकै निहुँमा मलाई सार्वजनिक माफी माग्न कर गरिरहेका छन्’ उहाँले भन्नुभयो, ‘मैले के अपराध गरेको छु र माफी माग्नु ! माफी माग्दिनँ भन्ने अडान मैले लिएको छु । त्यसैले मलाई बहिष्कार गरेका छन् ।’
इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई) भुवनसिंह कार्कीले भिखारीको उजुरी आएको र आरोपीहरुलाई बोलाएर सोधपुछ गर्ने कार्य भएको बताउनुभयो । विदामा रहेका प्रहरी निरीक्षक रञ्जन मिश्र कार्यालय आएपछि यो घटनाको विषयमा थप कारबाही अघि बढाइने कार्कीको भनाइ छ ।
सोनमा गाउँपालिका—४ का वडाध्यक्ष मिठु रायले पनि दलित कै घरमा भोज खाएको निहुँमा भिखारी महतोलाई बहिष्कार गरेको घटना सत्य भएको बताउनुभयो । आफूले पनि कोइरीको माइजन देवानसँग कुरा गरेर यसो नगर्न आग्रह गरेको वडा अध्यक्ष रायले बताउनुभयो ।
‘घटना सही हो । मैले कोइरी जातका माइजन देवानलाई भेटेर आग्रह गरें । दलितकै घरमा भोज खाएको निहुँमा भिखारीको भातपानी यसरी नबार्नुस् । खान दिनुस् । तर जातीय माइजन देवान उनलाई नखुवाउने अडानमा छन्’, वडाध्यक्ष रायले बताउनुभयो।
नेपालमा जातीय भेदभाव दण्डनीय छ । यदि कसैले गरे तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुईलाख रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…