दरबन्दी अनुसार डक्टर नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल बझाङमा डक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् । जिल्ला अस्पताल बझाङमा चार जना डक्टरको दरबन्दी रहेकामा तीन जना डक्टर बिदामा बसेपछि बिरामीहरू मर्कामा परेका हुन् ।

जिल्ला अस्पताल बझाङमा कार्यरत डक्टर अरबिन्द जोशी फागुन १५ गतेदेखि, डक्टर सुस्मीत शर्मा एक हप्तादेखि र डक्टर शेरबहादुर साउद फागुन ९ गतेदेखि बिदामा रहेकाले बिशषज्ञ सेवा दिन समस्या भएको जिल्ला अस्पतालका प्रमुख डक्टर अनुप रेग्मीले बताए ।

अस्पताल प्रमुख डक्टर रेग्मीले डक्टर जोशी घरबिदा र डक्टर शर्मा लोकसेवाको तयारीका लागि बिदामा गएको जानकारी दिए ।

अस्पतालमा डक्टर नहुँदा एक सुत्केरी महिलाले आफ्नो बच्चा गुमाउनु परेको गुनासो गरेकी छिन् । खप्तडछान्ना गाउँपालिका-३ की १९ वर्षीया सुनिता जोशीले डक्टर नभएकै कारण आफ्नो बच्चाको मृत्यु भएको गुनासो गरिन् । आफू छान्ना स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि छान्ना स्वास्थ्य चौकीले जिल्ला अस्पतालमा पठाएको बताउँदै उनले भनिन्-'शुक्रबार नै म जिल्ला अस्पतालमा पुगिसकेकी थिएँ । अस्पतालमा अप्रेशन गर्ने डक्टर नै रहेनछन् । जिल्ला अस्पतालका कर्मचारीहरूले यहाँ डक्टर छैनन् डडेल्धुरा अस्पताल जाउ भने ।'

डडेल्धुराका लागि जिप रिजर्व गर्दा २० हाजार रुपियाँ लाग्ने भएपछि आफू डडेल्धुरा अस्पताल जान नसकेकाले गर्भमा रहेको बच्चा गुमाउनु परेको जोशीले बताइन् ।

यसैगरी जयपृथ्वी नपा-११ सुईलकी हंसा धामी पनि बिरामी भई उपचारका क्रममा जिल्ला अस्पताल, बझाङ आउँदा अस्पतालमा डक्टर नभएपछि फर्केर निजी क्लिनिकमा उपचार गर्नु परेको बताइन् ।


रमेश केसी