दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

चौतारा सागाचोकगढी नगरपालिका-५ स्थित चौतारा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

सदरमुकाममा रहेको चौतारा अस्पतालमा तीन जना स्थायी र सात जना अस्थायी गरी १० जना चिकित्सकको दरबन्दी रहेकोमा दुई जना स्थायी र पाँच जना अस्थायी गरी सात जना मात्र चिकित्सकहरू कार्यरत रहेका छन् । तीन जना चिकित्सक खाली हुँदा सेवा प्रवाहमा समस्या भएको चौतारा अस्पतालका प्रमुख डा. त्रिभुवन झाले बताउनु भयो । विभिन्न रोगको प्रकोपहरू देखा परेको वर्तमान समयमा चिकित्सकको अभावमा सेवा पुर्‍याउन समस्या भएको प्रमुख डा. झाले बताउनु भयो ।

पाँच जनाले जागिर छाडेर गएकाले खाली भएको र खाली दरबन्दीमा बागमती प्रदेश सरकारले विज्ञापन गरी भर्ना गर्नु पर्ने हो, तर विज्ञापन नभएको धेरै समय भएको चौतारा अस्पतालका सूचना अधिकारी चुडामणि पुरीले जानकारी दिनुभयो ।

यस चौतारा अस्पतालमा सरकारी स्वीकृत भएको १५ सैया हो तर बिरामीको चापको कारणले ३७ ओटा बेड राखेर सञ्चालन गर्नु परेको चौतारा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले बतउनु भयो । यस अस्पतालमा दैनिक १ सय ५० जनासम्म बिरामीहरू सेवा लिन आउने गरेको अध्यक्ष कार्कीले बताउनु भयो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्रीलाई भेट गरेरै चिकित्सक पठाइदिन धेरै पटक अनुरोध गरेको तर प्रक्रियामा रहेको अध्यक्ष कार्कीले बताउनु भयो ।

अस्पतालमा अति जरुरी रहेको बाल रोग र स्त्री रोगसम्बन्धी विषयका चिकित्सकहरू नहुँदा झन् समस्या भएको सूचना अधिकारी चुडामणि पुरीले इन्सेकलाई बताउनु भयो ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर, चौतारा अस्पतालमा भने चिकित्सकको अभावमा स्वास्थ्य सेवा पुर्‍याउन समस्या भएको छ ।

Photo_080-7-13_Sindhupalchok


नातिबावु धिताल