दण्डहीनता समाज विकासको बाधकः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालमा समाज विकासको बाधकका रूपमा दण्डहीनता प्रमुख कारक रहेको बताउँदै यसको अन्त्यका लागि अधिकारकर्मी क्रियाशील हुनुपर्ने बताएका छन् ।

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयद्वारा भदौ ५ गते विराटनगरमा आयोजित मानव अधिकार सञ्जाल आबद्ध अधिकारकर्मीहरूसँगको छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले राजनीतिक दलका नेताहरूले हामीले जे गर्दा पनि हुन्छ भनेर कानुनको अपव्याख्या गरेका कारण दण्डहीनता मौलाउँदै आएको बताएका हुन् ।

उनले राजनीति सिद्धान्तविहिन भएको भन्दै राजनीतिक दलका नेतृत्वमा रहनेहरूले देश र जनताका लागि नभई मेरा लागि भनेर दर्जामा केन्द्रीत राजनीति गर्ने परिपाटीको विकास गरेकाले दण्डहीनता मौलाएको बताए ।

अध्यक्ष प्याकुरेलले अब मानव अधिकारकर्मीहरूले दिगो विकास सहश्राब्दी लक्ष्य पुरा गर्न, यूपिआरमा प्राप्त सिफारिस कार्यान्वयनका लागि दबाब दिन र राष्ट्रिय मानव अधिकार रणनीतिक योजना बनाउन लाग्नुपर्ने बताए ।

देश सङ्घीय संरचनामा जान लागेको वर्तमान अवस्थामा राजनीतिक दलले गरेका वाचा पुरा गराउन घच्घच्याउने काममा अधिकारकर्मीको ठूलो भूमिका हुने अध्यक्ष प्याकुरेलले बताए ।


इन्दिरा भट्टराई