सहयोग गर्दै दजाकोटबासीले भने-'हाम्रो पीडा बिर्सिएका छैनौँ !'

  २०८१ वैशाख १६

जङ्गलको आगो बस्तीमा पसेपछि ध्वस्त भएको गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ को दजाकोट पुरानै अवस्थामा फर्किएको धेरै भएको छैन । तर, विगतको आफ्नो पीडा सम्झिँदै दजाकोटबासीले अहिले इस्मा गाउँपालिकाका आगलागी पीडितको दुखमा सहयोग गरेको छ । दजाकोटका स्थानीयले इस्मा गाउँपालिकाका आगलागी पीडितको लागि १ लाख ५० हजार रुपियाँ सहयोग गरेका हुन् । दजाकोटका अगुवा हरि छन्तेलले छिमेकको पीडा हेरेर बस्न नसकेकाले आफूहरूले रकम सङ्कलन गरेर प्रदान गरिएको बताउनु भयो ।

दजाकोटमा ०७३ वैशाख १८ गतेको आगलागीले ५७ घर र ७० गोठ पूर्ण तथा आठ घर आङ्शिक क्षति भएका थिए । घटनामा पाँच सय बढी पशुचौपाय र कुखुराहरू आगोले नष्ट भएका थिए । अहिले ४१ घर पूर्ण रूपमा पुनर्निमाण गरिएको छ । त्यो बेला क्षति भएका मध्ये केही पीडित परिवार बसाई सरेर अन्यत्र गएका छन् ।

त्यस्तै ०७५ वैशाख १८ गते दुषित पानीका कारण मुसिकोट नगरपालिका-४, दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोपका कारण विद्यालय बन्द हुँदा पढाई प्रभावित भएको थियो । झाडापखाला प्रभावित क्षेत्रमा दुषित पानीका कारण रोगको थप प्रकोप फैलिन नदिन खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको निर्देशनमा विभागको पानी शुद्धिकरण चेक गर्न आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स गाउँमा आएको तत्कालीन मेयर सोमनाथ सापकोटाले बताउनुभएको थियो ।

त्यो बेला मुसिकोट नगरपालिकाबाट प्रत्येक पीडित परिवारलाई एक/एक लाख रुपियाँ सहयोग प्रदान भएको थियो भने दाताहरूको सहयोगबाट १ करोड ८२ लाख रुपियाँ सङ्कलन भएर बस्ती पुनर्निर्माण भएको छन्तेलले बताउनु भयो । आगोले ध्वस्त दजाकोट अहिले फेरिएको छ । पुरानै अवस्थामा फर्किन करिव तीन वर्ष लाग्यो । अहिले चिटिक्क घरहरू बनेका छन् । सबैले हिँजोको पीडा भुलेर पशु व्यावसाय मार्फत दैनिक जीवनलाई सहज बनाइरहेको स्थानीय सोम दलार्मीले बताउनु भयो । ‘पीडा बिर्सेका छैनौँ तर, सम्झेर बाँच्न सकिँदैन् । चुनौतिको सामना दजाकोटले गरेको छ । बिपद्को साथ जीवनभर हुन्छ त्यसैले अहिले इस्मा गाउँपालिकालाई सहयोग गर्‍यौँ', दलार्मीले भन्नुभयो ।

इन्सेक अनलाइनमा ०८१ वैशाख ९ गते आँखै अगाडि खरानी बने घरः पीडित भन्छन्, 'सम्पत्ति होइन प्यास मेट्ने एक बोत्तल पानी रहेन' शीर्षकमा, ०८० वैशाख १३ गते स्थायी आवासको आशमा छन् आगलागी पीडितः पीडित भन्छन्,'आगोको पीडामाथि वर्षातको सास्ती खेप्नु नपरोस्' र 'घर गोठसँगै पाठ्यपुस्तक जलेपछि इस्मा गाउँपालिकाका ३१ जना विद्यार्थीको पठनपाठन प्रभावित' शीर्षकमा समाचार प्रकाशित भएको थियो । सोही अनुसार इस्मा गाउँपालिकाका आगलागी पीडितहरूको लागि सहयोग सङ्कलन भइरहेको छ ।

इस्मा गाउँपालिकाका आगलागी पीडितको लागि अहिलेसम्म रेसुङ्गा नगरपालिकाबाट दुई लाख रुपियाँ, गुल्मी दरवार गाउँपालिकाबाट एक लाख रुपियाँ, नेपाली कांग्रेसबाट दुई लाख रुपियाँ सहित विभिन्न व्यक्ति र संस्थाहरूले नगद सहयोग गरेका छन् । दर्जनौँ दाताहरूबाट स्थानीय तहको बिपद् कोषमा नगद र प्रभावित स्थलमा जिन्सी सहयोग भइरहेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । आफूहरूको दुखमा सहयोगी संस्थाहरूको साथले नै पीडित परिवारलाई केही भएपनि राहतको महसुस गराउन सकिएको खड्काले बताउनु भयो । इस्मा गाउँपालिकामा पीडित परिवारका जलेका घर गोठहरू हटाएर स्थायी आवास निर्माणको काम अगाडि बढाउने प्रक्रिया सुरु भएको छ ।

Photo28042024Gulmi3
दजाकोटका स्थानीयले इस्मा गाउँपालिकाका आगलागी पीडितको लागि १ लाख ५० हजार रुपियाँ सहयोग गर्दै
Photo28042024Gulmi2
०७३ सालमा आगलागीले ध्वस्त भएको मुसिकोट नगरपालिका-४, दजाकोटको दृश्य
Photo28042024Gulmi1
०७३ सालमा आगलागीले ध्वस्त भएको मुसिकोट नगरपालिका-४, दजाकोटको दृश्य

Photo28042024Gulmi


टोपलाल अर्याल