दक्ष जनशक्ति अभावमा स्वास्थ्य उपकरण प्रयोग विहिन, विरामी मार्कामा

  ०७९ फागुन ३० गते

जिल्ला अस्पताल, बाजुरामा दक्ष जनशक्ति अभाव तथा उपलब्ध स्वास्थ्य उपकरण प्रयोग विहिन अवस्थामा रहदा यस क्षेत्रका विरामीहरुले सास्ती खेप्नु परेको छ ।

जिल्ला अस्पतालमा राखिएका भेण्टीलेटर तथा अन्य उपकरणहरु दक्ष जनशक्तिको अभावमा प्रयोग विहिन अवस्थामा स्टोरमा थन्क्याएर राखिएको छ ।

बडिमालिका नगरपालिका–९ का ४ वर्षीय गौतम थापालाई जन्मेको नौ महिना मै मुटुको रोग देखा प¥यो । जन्मेको नौ महिनादेखि जिल्ला अस्पतालमा उपचार गराइ रहेका गौतमको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनको उपचारका लागि काठमाडौँस्थित सहिद गंगालाल हृदय केन्द्रमा लगियो । तर, उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक अवस्था कमजोर भएका गौतमका बुबाले छोराको उपचार नगराइकन घर फिर्ता लिएर आउन बाध्य भए ।

आर्थिक अवस्था कमजोर भएका कारण जिल्ला अस्पतालमा नै राखि दिन र छोराको ज्यान गएको खण्डमा आफै जिम्मेवार हुने कागज गरेको आर्थिक संकलनमा लागेको विरामी गौतम थापाका बुबा हिमाल थापाले गुनासो गर्नु भयो ।

पीडित परिवारले समाजिक अभियान्ता र सहयोगी दाताहरुबाट आर्थिक सहयोग संकलन गरेर हाल बालकको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।   जिल्ला अस्पताल, बाजुरामा स्वास्थ्य उपकरणको अभाव र दक्ष जनशक्तिको अभावमा उपलब्ध स्वास्थ्य उपकरणहरु प्रयोग विहिन भएकाले हप्तामा पाँच जना विरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्नु परेको अस्पतालका सूचना अधिकारी नृप गिरीले बताउनु भयो  ।

उहाँले महङ्गो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा यसले स्वास्थ्य सेवा प्रवाहमा असर पुग्न गएको र स्थानीयहरुले सेवा लिन नसकेको बताउनु भयो ।

जिल्ला अस्पताल, बाजुरालाई सुदूरपश्चिम प्रदेश सरकारले  डेढ वर्ष पहिले  चार ओटा मनिटर सहित दुई ओटा भेण्टीलेटर  दिएको छ । दक्ष जनशक्ति अभावका कारण भेण्टीलेर प्रयोग विहिन बनेको जिल्ला अस्पतालका सूचना अधिकारी गिरीको भनाइ छ ।

बाजुरा, हुम्ला मुगु र कालिकोट जिल्ला लगायत जिल्लाका सर्वसाधरणहरुलाई सहज रुपमा सेवा दिने उद्देश्यले उपकरण दिएको भए पनि उपकरण सञ्चालनमा ल्याउन दक्ष जनशक्ति नहुँदो सर्वसाधरण मारमा परेका हुन् ।

अस्पतालमा रहेका उपकरण प्रयोगविहिन भएपछि भेण्टीलेट र आइसीयूमा राखेर उपचार गराउन पर्ने विरामीहरु धनगढी, नेपालगञ्ज, काठमाडौँ लगायतका ठूला अस्पतालहरुमा जान बाध्य भएका छन् ।

अस्पतालमा आइसियु र भेण्टीलेटर सञ्चालनका लागि चाहिने विषेशज्ञ चिकित्सक, एमडी ऐनेसथेसीया, स्टाप नर्स लगायतको जनशक्ति प्रदेश सरकारले हालसम्म नपठाएको कारण थन्क्याएर राख्नु परेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रेरित देवकोटाले बताउनु भयो ।

उहाँले भन्नु भयो–  जिल्ला अस्पतालमा उपलब्ध जनशक्ति कोही पनि तालिम प्राप्त छैनन् । आफूलाई अनुभव र जानकारी नभएको उपकरण प्रयोग गर्दा उल्टै समस्या हुन्छ । भेण्टीलेटर प्रयोग नै नगरि गोदाममा थन्क्याएर राखिको छ ।

कोरोना कालमा  एउटा आईसियू कक्ष बनाएर जडान गरिएको भए पनि प्रयोगमा नआएपछि ठाउँ अभावले स्टोरमा थन्क्याइएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रयोग नै नगरि करोडाँैका उपकरण स्टोरमा थन्क्याउदा उपकरण बिग्रने हुदा राज्यको सम्पति बेकाममा जाने अवस्था रहेकोले सरकारले दक्ष जनशक्तिको व्यवस्था गरी सञ्चालनमा ल्याएको खण्डमा आर्थिक रुपमा पछाडी परेका नागरिकलाई सहज हुने डाक्टर देबकोटाले बताउनु भयो ।

जिल्ला अस्पताल, बाजुराका अध्यक्ष मानबहादुर कार्कीले भवन निर्माणाधिन अवस्थामा रहेकोले धेरै उपकरण ठाउँ अभावका कारण र दक्ष जनशक्तिको अभावमा सञ्चालनमा ल्याउन नसकिएको बताउनु भयो ।

भवन अभावका कारण  पोषण, बिमा, आँखा उपचार केन्द्र लगायतका सेवाहरु भाडाको घरबाट सञ्चालन भइरहेको समेत अध्यक्ष कार्कीले बताउनु भयो ।

जिल्ला अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन र उपलब्ध उपकरण सञ्चालनका लागि सुुदूरपश्चिम प्रदेश सरकारसँग पटकपटक माग गरिरहेको अस्पतालका सूचना अधिकारी गिरीले बताउनु भयो ।

f

f

 

 

 


पदमबहादुर सिंह