थुनुवा 'मृत्यु प्रकरण'को छानबिन गर्ने जिम्मा एसएसपीलाई

वडा प्रहरी कार्यालय लमहीको हिरासतभित्रै एक थुनुवाको मृत्यु प्रकरणलाई ढाकछोप गर्दै वेवारिसे शव भनेर गाडेको भन्ने खबर सार्वजनिक भएपछि पाँच नम्वर प्रदेश सङ्घीय इकाई प्रहरी कार्यालय तुलसीपुरले घटनाको छानबिन गर्न एसएसपी दिलिपकुमार चौधरीलाई जिम्मा दिएको छ ।

एआइजी मिङमार लामाले भदौ २१ गते चौधरीलाई घटनाको सत्यतथ्य बाहिर ल्याउन पाँच दिनको समय दिएको बताए । भदौ १३ गते लमहीस्थित वडा प्रहरी कार्यालयको प्रहरीको एक टोलीले लमही अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याएपछि मानसिक समस्या देखिएको र मनोविमर्शको आवश्यकता रहेको सुझाव दिएको अस्पतालका डा.इश्वरी खनालले बताए ।

तर, भदौ १४ गते जिल्ला प्रहरी कार्यालयको आधारिक फेसबुक पेजमा गङ्गटे भनिने एक व्यक्ति घोराही-लमही सडकखण्डको चौपटटा भन्ने स्थानमा बेवारिसे अवस्थामा मृत भेटिएको भन्दै सूचना सार्वजनिक गरेको थियो ।

यद्यपी भदौ १४ गते बिहानै लमही अस्पतालमै गङ्गटे भनिने ती व्यक्तिलाई उपचारका लागि लगिएपनि मृत्यु भइसकेको चिकित्सकको टोलीले घोषणा गरेको अस्पताल स्रोतले जनायो । प्रहरीले उक्त व्यक्तिलाई कुन कसुरमा कहिले गिरफ्तार गरेको हो भन्ने समेत खुलाएको छैन ।

वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर सुरज खड्काले पहिले गङ्गटे भनिने व्यक्ति गिरफ्तार नै नभएको भनेपनि अहिले लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् । दाङका विभिन्न शहरमा चोरी गर्दै हिँड्ने आरोप लागेका ती व्यक्तिको शव प्रहरीले बेवारिसे भनेपछि घोराही उपमहानगरपालिकाले शव व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ ।

सञ्जालद्वारा घटनाको सत्यतथ्य छानबिन गर्न माग

यसैबिच मानव अधिकार सञ्जाल दाङ र नागरिक समाज दाङले भदौ २१ गते संयुक्त विज्ञप्ति निकालेर लमहीमा प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु भएको भन्ने घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सञ्जालका संयोजक केशवकुमार शर्मा र समाजका संयोजक टीकाराम रेग्मीले विज्ञप्ति निकालेर सञ्चारमाध्यममा आएको थुनुवाको मृत्युसम्बन्धी खबरले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सत्यतथ्य छानबिनका लागि माग गरेका हुन् ।


जेएन सागर