थामे बाढी: पुल भत्किएपछि खुम्बु क्षेत्रमा औषधि र खाद्यान्न सङ्कट

  ०८१ भदौ ६ गते

थामेबाट आएको बाढीले माप्य-खुम्बु मितेरी पुल बगाएपछि खुम्बु क्षेत्रमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ ।

थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले माप्य-खुम्बु मितेरी पुलमा क्षति पुर्‍याएपछि खुम्बु क्षेत्रमा खाद्यान्न सङ्कट उत्पन्न भएको हो ।

बाढीले माप्य-खुम्बु मितेरी पुलमा सवारी साधन आवतजावत गर्न नमिल्ने गरी क्षति पुर्‍याएपछि खुम्बु क्षेत्रमा दैनिक उपभोग्य वस्तुको ढुवानी हुन नसक्दा खाद्यान्न, औषधिलगायतका सामग्रीको सङ्कट हुन थालेको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताउनु भयो ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ को फाक्दिङदेखि नाम्चे जाने पदमार्ग कटान गरेका कारण पद मार्ग पनि अवरूद्ध भएको छ । फाक्दिङदेखि नाम्चेसम्म २ सय मिटर पदमार्ग बाढीले कटान गरेको छ । बाढीका कारण जोर सल्ले, टोकटोक र घाट लगायतका क्षेत्रहरूमा पदमार्गहरू अवरूद्ध भएका छन् ।

बाढीका कारण सवारीसाधन आवतजावत गर्ने मार्ग र पैदल मार्गसमेत अवरूद्ध भएपछि खुम्बु क्षेत्रमा औषधि, दैनिक उपभोग्यलगायतका वस्तु पुर्‍याउन सकिएको छैन । एक सातायता दैनिक उपभोग्यलगायतका वस्तु खुम्बु क्षेत्रमा नपुगेपछि खाद्यान्न सङ्कट भएको प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।

थामेको बाढीले पदमार्ग कटान गरेपछि लुक्लाबाट नाम्चे हुँदै थामेसम्मको आवतजावत मार्ग बन्द भएको छ । बाढीले पदमार्ग कटान गरेका कारण पदमार्ग भएर औषधिलगायतका सामग्री ढुवानी गर्न नसक्दा खुम्बु क्षेत्रमा खाद्यान्न सङ्कट भएको हो ।

बाढीले क्लिनिकमा क्षति पुर्‍याएपछि सेवा प्रभावित

खुम्बु पासाङ गाउँपालिका-५ स्थित स्वास्थ्य क्लिनिकको भवन थामेबाट आएको बाढीले  बगाएपछि उपचार सेवा प्रभावित भएको छ । साउन ३२ गते दिउँसो हिमपोखरी फुटेर भवन माथिबाट आएको बाढीले क्लिनिक भवन पूर्ण रूपमा क्षति पुर्‍याएपछि औषधि लगायतमा क्षति पुगेको थियो ।

पहिरोले दैनिक प्रयोगमा आउने औषधिलगायत र स्वास्थ्य साम्रगी र उपकरण बगाएपछि एक सातायता स्वास्थ्य सेवा प्रभावित भएको खुम्बु पासाङल्हामु गाउँपालिका-५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बताउनु भयो ।

बाढीका कारण क्लिनिकको भवन लगायतका संरचनामा पूर्ण रूपमा क्षति पुगेको छ । बालबालिकालाई खोप लगाउने तथा औषधि भण्डारण गर्ने भवनमा क्षति पुगेपछि थामे क्षेत्रका नागरिकहरू स्वास्थ्य उपचारका लागि नाम्चे आउनुपर्ने बाध्यता आइलागेको छ ।

खुम्बु पासाङ गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पाले तत्काल खुम्बु क्षेत्रमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्न समस्या रहेको बताउनु भयो ।

नदी क्षेत्रमा कटान जारी रहेको तथा पूर्ण बगरमा परिणत भएकाले  थामे क्षेत्रका नागरिकहरु आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।

Photo 20240821 solukhumbhu (1)

Photo 20240821 solukhumbhu (2)


अञ्जु कार्की