थाइरोइड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा

  ०८१ माघ २३ गते

सिरहा जिल्लाको लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोइड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

अस्पतालमा दैनिक ३० जना भन्दा बढी सेवाग्राहीहरू थाइरोइड जाँच गराउन आउने गरेको अस्पतालका ल्याव टेक्नीसियन कासिन्द्र यादवले बताउनु भयो । तर, थाइरोइड जाँचका लागि प्रयोग हुने उपकरण बिग्रिएकोले विगत एक हप्तादेखि अस्पतालमा आउने लाभग्रहीहरू सेवाबाट बञ्चित हुनु परेको यादवले बताउनु भयो । ल्याव टेक्नीसियन यादवका अनुसार यस अस्पतालमा थाइरोइड जाँचको सेवा शुल्क मात्र ८ सय रुपियाँ लाग्ने भएकोले उक्त सेवाका लागि आउने धेरै जसो गरिब तथा विपन्न वर्गका मानिसहरूलाई सहज भए तापनि केहि दिन यता सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । त्यसैगरी, थाइरोइड जाँच गर्ने उपकरण समयमा मर्मत हुन नसक्दा सेवाग्राहीहरू मर्कामा परेको उहाँले बताउनु भयो ।

लहान नगरपालिका-२० की कोशिला यादवका अनुसार लहानस्थित मुरारका अस्पतालमा थाइरोइड जाँचका लागि आवश्यक उपकरण बिग्रिएको र समयमा मर्मत हुन नसक्दा आफू जस्ता कयौँ गरिब मानिसहरू मर्कामा परेको दुखेसो सुनाउनु भयो । “यस अस्पतालमा थाइरोइड जाँचका लागि मात्र ८ सय रुपियाँ लाग्दछ भने अन्त निजि अस्पताल तथा क्लिनिकहरूमा १ हजार ५ सय रुपियाँ पर्न जान्छ” कोशिला यादवले भन्नु भयो । उहाँले भन्नु भयो, “हामी जस्ता विपन्न वर्गका मानिस जसले ज्याला मज्दुरी गरेर छाँक टर्छन उनीहरूले कहाँबाट ल्याउने १ हजार ५ सय रुपियाँ । तसर्थ, अस्पताल व्यवस्थापन समितिले सक्दो छिटो उक्त उपकरणको मर्मत गरी अथवा नयाँ उपकरण खरिद गरी सेवाग्राहीहरूलाई सेवा उपल्ब्ध गराउनु हुन विनम्र अनुरोध गर्नुभयो” ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ट बिजेन्द्र साहले थाइरोइड जाँच गर्ने उपकरण बिग्रिएका कारण सेवामा पर्न गएको अवरोध प्रति दुःख व्यक्त गर्नुभयो । साथै उहाँले उक्त उपकरण एक पटक मर्मत गरे तापनि पुनः बिग्रिएको हुनाले मर्मत सम्भारका लागि टेक्निसियनलाई बोलाएको र चाँडै मेसिन ठिक गराइ सेवा सूचारु गर्ने आश्वासन दिनु भयो ।


दुर्गा परियार