त्रुटि गर्नुभयो भने आयोगले फिर्ता बोलाउँछः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षकले कसैप्रति पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।

निर्वाचन आयोगमा वैशाख १६ गते आयोजित ‘पर्यवेक्षणसम्बन्धी राष्ट्रिय सङ्घसंस्थासँगको अभिमूखीकरण तथा अन्तक्रिया’मा उनले निर्वाचनमा हिमाल, पहाड र तराईमा स्वतन्त्र र निष्पक्ष ढङ्गबाट पर्यवेक्षणको कर्तव्य पूरा गर्न आग्रह गरे ।

प्रमुख आयुक्त यादवले भने-“निर्वाचनको साक्षीका रूपमा मतदातामाझ उपस्थित हुने पर्यवेक्षकहरूले आफ्नो व्यावसायिक उच्च मर्यादालाई पालना गर्नु नै हुनेछ ।”

उनले विगतका निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले गरेको निर्वाचन पर्यवेक्षणमा निष्पक्षता प्रकट नगर्ने केही पर्यवेक्षक संस्थालाई कारबाही गरिएको घटनाको स्मरण गराए ।

प्रमुख आयुक्त यादवले भने-“तपाईंहरू हाम्रो पनि पर्यवेक्षण गर्नुहुन्छ । आयोगले पनि तपाईंहरूको पर्यवेक्षण गर्छ । हामीबाट त्रुटि भयो भने तपार्इंहरूले हामीलाई सल्लाह सुझाव दिन हुन्छ तर तपार्इंहरूले त्रुटि गर्नुभयो भने आयोगले फिर्ता बोलाउँछ ।”

प्रमुख आयुक्त यादवले भने-“आयोगले निर्वाचनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको समयमा निर्वाचन व्यवस्थापनलाई असर पर्ने गरी राजनीतिक तहबाट आएका विचारले आयोगलाई चिन्तित तुल्याएको छ ।”

आयोगका सचिव गोपीनाथ मैनालीले पर्यवेक्षकले पनि आफ्नो आचारसंहिताको पूर्ण पालना गरेर निर्वाचन पर्यवेक्षण हुने विश्वास व्यक्त गरे ।


अनलाइन डेस्क