त्रिपालमूनि बस्न बाध्य भूकम्प पीडित चिसोले बिरामी पर्न थालेः बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

  ०८० मङ्सिर ४ गते

बझाङ जिल्लाको चैनपुर आसपास केन्द्र बिन्दु भएर ०८० असोज १६ गते गएको भूकम्पका कारण घरबार बिहिन भएका जिल्लाका भूकम्प पीडित परिवारका बालबालिका र ज्येष्ठ नागरिकहरु बिरामी पर्न थालेका छन ।

भूकम्पका कारण घरभत्कीएपछि त्रिपालमूनि बस्न बाध्य भूकम्प पीडित परिवार चिसोका कारण बिरमी पर्न थालेका हुन् ।

photo20231120bajura (1)

खप्तड छेडेदह गाउँपालिका–५ डोगडीकी ६२ वर्षीया साउने सार्की झण्डै दुई महिनादेखि त्रिपालमूनि चिसोमा बस्न बाध्य भएपछि चिसोका कारण बिरामी पर्नुभएको छ । चिसोका कारण टाउँको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने लगायत स्वास्थ्य समस्याले पीडित भएको उहाँले दुखेसो पोख्नु भयो ।

भूकम्पका कारण साउने सार्कीको घरमा पूर्ण क्षति भएदेखि उहाँको १३ जनाको परिवार हाल पालमूनि र बाख्राको गोठमा बस्न बाध्य भएका छन् ।

पटकपटक भूकम्पको पराकम्पन आइरहने भएकाले त्रसित भएका स्थानीय सामान्य चर्किएका घरमा बस्न सुरक्षित नहुने भन्दै अधिकांस भूकम्प पीडितहरुको बास खुला आकाशमा रहेको छ । भूकम्पका कारण घरबारबिहिन भएका भूकम्प पीडितहरुले अहिलेसम्म सामान्य पाल बाहेक अन्य राहतका समाग्री नपाएको गुनासो गर्नु भएको छ ।

photo20231120bajura (2)

साउने सार्की जस्तै जिल्लाका अधिकांस भूकम्प पीडित परिवारहरु चिसोको कारण बिरामी पर्ने र बिभिन्न प्रकारका स्वास्थ्य समस्याहरुबाट पीडित भएका छन् ।

सुत्केरी भएको १९ दिन मात्रै भएको र त्रिपालमूनि बस्दा चिसोको कारण आफू र बच्चा बिरामी परेको दायाँ सार्कीले गुनासो गर्नु भयो । ज्वोरो र रुघाखोकीले शरीर कमजोर भएका कारण जन्मीएको बच्चालाई दुःध समेत खुवाउन नसकिएको उहाँले दुखेसो पोख्नु भयो ।

भूकम्प पीडित बसन्तीदेबी सुनारले नाबालक शिशु सहित सम्पूर्ण परिवार पालमूनि बस्नु पर्ने भएकोले बच्चाहरु बिरामी हुन थालेको बताउनु भयो ।

खप्तड छेडेदह गाउँपालिका–५ की मनकला सार्कीले भन्नु भयो– “मैले अहिलेसम्म राहत पाएको छैन् । घर भत्किएर तहसनहस भएपछि खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म त्रिपाल लगायतका समाग्री पाउन सकिएको छैन् ।”सबै निकायलाई समस्या बताउँदा पनि अहिलेसम्म सहयोग नपाएको उहाँले बताउनु भयो ।

photo20231120bajura (4)

भूकम्पका कारण सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर पूूर्ण रुपमा क्षति भएको भए पनि सबैलाई त्रिपालको व्यवस्थापन मिलाउनै समस्या भएको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनु भयो । संघसस्थाहरुले केही मात्रामा त्रिपालहरु वितरण गरेको भए पनि यहाँका नागरिकको आवश्यकता अनुसार त्रिपाल र राहत दिन नसकेको उहाँको भनाइ छ । घर भत्तकीएका नागरिकहरुलाई सामान्य पालहरु दिएको भए पनि घरहरु चर्किएका नागरिकहरु समेत खुला ठाउँमा बस्दै आएकाले उहाँहरुलाई राहत दिन नसकेको अध्यक्ष रावतले बताउनु भयो ।

भूकम्पका कारण गाउँपालिकामा धेरै घर भत्किएका छन् भने नभत्किएका घरमा पनि चिरा परेकोले बस्न लायक अवस्थामा छैनन् ।

भुकम्प पीडितहरु त्रिपालमूनि रातकाटिरहेका कारण चिसोले गर्दा गर्भवती, सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकहरुमा सबै भन्दा बढी स्वस्थ्य समस्याहरु देखापरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

photo20231120bajura (5)

पटकपटक आइरहने भूकम्पको पराकम्पले जिल्लाका ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय, बाजुराको तथ्याङ्कमा उल्लेख छ । असोज १६ गते दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला पराकम्प जाने क्रम जारी छ । भुकम्पले जिल्लामा १ हजार ३ सय ८३ घर पूर्ण रुपमा क्षति भएका छन् भने आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिमपूर्ण गरी ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय, बाजुराको तथ्याङ्क छ ।

खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घरमा पूर्ण क्षति भएको, बडिमालिका नगरपालिकामा १ सय १४, त्रिवेणी नगरपालिकामा १ सय १०, बुढिगंगा नगरपालिकामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पूर्ण क्षति भएको छ । गौमुल गाउँपालिका २५ र हिमाली गाउँपालिकामा दुई घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय, बाजुराले जनाएको छ ।

भूकम्पका कारण जिल्लामा मानवीय क्षति नभए पनि घरहरुमा भएको क्षतिले भूकम्प पीडितहरु चिसोमा रात काट्न बाध्य छन् । भूकम्प पीडितहरु राहत र पुनर्स्थापनाको प्रतिक्षामा रहनु भएको छ ।

photo20231120bajura (3)


पदमबहादुर सिंह