त्रिपालमूनि बसिरहेका भूकम्प प्रभावितहरुलाई चिसोले थप पीडा

  ०८० कात्तिक २८ गते

भूकम्पपछि घरबास विहीन  भूकम्प प्रभावितहरु चिसोले कठ्याङिग्रन थालेका छन् । विहान देखि लागेको बादल र साँझ परेको पानीको कारण खुला चौरमा त्रिपालमुनि बसिरहेका भूकम्प प्रभावितहरुले थप पीडा भएकाे छ ।

पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले भूकम्पको विपत्ती खेपिरहेका जाजरकोट र रुकुमपश्चिमका सर्वसाधारणहरुलाई वर्षाले समेत पीडा थप्न थालेको बताउनु भएको छ ।

उहाँले यस्तो कठिन बेलामा प्रकृति पनि निर्दयी बनेको उल्लेख गर्दै जनताको रक्षा कसरी गर्ने भन्ने प्रश्न उब्जिएकोले तत्काललाई सबैजना आ आफ्नो स्थानमा सुरक्षित भएर बस्न समेत अनुरोध गर्नुभयाे ।

आठविसकोट नगरपालिका–१३ मा महेश मल्लले त्रिपालमुनि रहेका अधिकांश प्रभावित परिवारहरु आकाशे पानीको कारण कठ्याङिग्रन थालेको बताउनुभयो । एउटा त्रिपाल  त्यसैमुनि परिवारका सदस्यहरु बस्ने गरिएकोमा पानी पर्दा स्वास्थ्य नै प्रभावित हुन थालेको उहाँको भनाइ छ ।

कतिपय स्थान अझै भूकम्प पीडितहरुले त्रिपाल र राहतसम्म पाउन नसकेको गुनासोका बीच पानी पर्दा थप पीडा थपिएको छ । वर्षाको कारण बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलाहरुमा बढी प्रभाव पर्नसक्ने बताईएको छ । भूकम्पले चिराचिरा पारेको घर ठूलो पानी परे भत्कने चिन्तामा प्रभावितहरु रहेका छन् ।

भूकम्पको कारण ५३ जनाको मृत्यु भएको छ भने १६ हजार ५७० घर पूर्णक्षति भएका छन् । त्यसैगरी जिल्ला विपद व्यवस्थापन समितिकाे  प्रारम्भिक तथ्याङ्क अनुसार नौ हजार ९ सय ६१ घरमा आंशिक क्षति भएको छ ।

Photo20231114RukumPaschim

 


हिरा परियार