तीन वर्षदेखि पानी चुहिने जीर्ण कच्ची भवनमा पठन पाठन गर्न बाध्य विद्यार्थीहरू

  ०८१ जेठ २८ गते

बेँसीसहर नगरपालिका– १ सानो धिमिरेस्थित बालविकास प्राथमिक विद्यालयका विद्यार्थीहरु तीन वर्षदेखि गारो चर्किएको जीर्ण भवनका कारण पानी पर्दा पानी चुहिने र कक्षाकोठा भित्रै पस्ने विद्यालय भवनमा पढ्न बाध्य हुँदै आएका हुन् ।

विद्यालयका प्रधानाध्यापक सिमा लोहनीले पुरानो भवन जीर्ण र पानी चुहिने र पानी कोठा भित्रै छिर्ने गर्दा पानी परेका बेलामा पठनपाठन प्रभावित हुँदै आएको बताउनुभयो । २०४८ मा स्थापना भएको यस विद्यालयको पुरानो भवनको गाह्रो चिराचिरा परेर खस्ने अवस्थामा रहेकाले कुनै पनि बेला खस्छ कि भनेर पठनपाठनमा समस्या भइरहेको बताउनुभयो ।

‘पानी परेपछि विद्यार्थीहरुलाई दुइकोठे नयाँ भवनमा रहेको शिक्षकको कार्यालयमै ल्याएर राख्ने गरेका छौँ, नयाँ भवनका कोठामा पनि पानी छिर्ने गरे पनि अन्य कोठाको तुलनामा कम पानी आउने गरेकाले शिक्षक विद्यार्थी एकै ठाउँमा बस्ने गरेका छौं’, लोहनीले बताउनुभयो  ।

पुरानो भवनको निर्माण र नयाँ भवनको छानो फेर्नका लागि वडा कार्यालय, पालिकाको शिक्षा शाखादेखि प्रदेश सरकारसँग केही वर्षअघिदेखि नै माग गरे पनि हालसम्म सुनुवाइ नहुँदा विद्यार्थीले यस्तो समस्याको सामना विगत तीन वर्षदेखि गर्न बाध्य हुँदै आएको गुनासो प्रधानाध्यापक लोहनीले गर्नुभयो ।

विद्यालयमा गत वर्ष २२ जना रहे पनि यस वर्ष १५ जना मात्र विद्यार्थी रहेका छन् । नर्सरीदेखि कक्षा तीन सम्म पढाई हुने यस विद्यालयमा पानी आएपछि विद्यार्थी झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव किसानराज चिलुवालले उक्त विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत माग गरे पनि उक्त कार्यक्रमका लागि बजेट नै नआएकाले सहयोग गर्न नसकिएको र विद्यालय मर्मत तथा निर्माणका लागि शिक्षा शाखासँग बजेट नहुने बताउनुभयो ।

वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले विद्यालयमा पानी चुहिने र जीर्ण भवनमा पठनपाठन गर्न जोखिम रहेको भए पनि तत्काललाई आर्थिक अभावले सो समस्या हटाउन नसकिने बताउनुभयो । विद्यालयबाट केही दिनअघि मात्र उक्त जानकारी वडालाई आएको र सोअघि कुनै जानकारी नआएकाले अहिले आर्थिक वर्षको अन्तिम बेलामा बजेट नहुने उनको भनाई छ ।

उक्त खबर पाउनासाथ वडाबाट प्राविधिक पठाएर हाललाई नयाँ भवनको एक कोठाका लागि छानो छाउनका लागि लागत अनुमान तयार गरेर र सम्झौता गरेर केही दिनमा काम अघि बढ्ने वडाध्यक्ष बुढाथोकीको भनाई छ ।

उहाँले पुरानो जीर्ण भवन भने तत्काल केही गर्न नसकिने र आगामी दिनमा विद्यालय भत्काउने तथा कसरी अघि बढ्ने भनेर छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

photo 081-2-28 lamjung


सुमित्रा भुजेल