तीन वर्षदेखि नगर अस्पताल निर्माण अलपत्र हुँदा सेवाग्राहीलाई समस्या !

  ०८१ माघ २७ गते

आठबीसकोट नगरपालिकामा निर्माणधिन नगर अस्पताल भवन अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । आठबीसकोट नगरपालिका-९, राडीज्युलामा तीन वर्ष अघि शुरु भएको भवनले पूर्णता नपाएपछि अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको हो ।

नगरपालिकामा १५ शैया अस्पताल अनिवार्य बनाउने सरकारको लक्ष्य भए पनि निर्माणको जिम्मा लिएका व्यवसायीले वेवास्ता गरेपछि निर्माण सामाग्री सिमेन्ट लगाएत अन्य बस्तु नष्ट हुन थालेको छ । आठबीसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले दुई वर्षम निर्माण सम्पन्न हुनुपर्ने अस्पताल भवन तीन वर्षसम्म एक तालपनि ढलान हुन नसकेको बताउनु भयो । भवन निर्माणका लागी दुई पटक म्याद थपेपनी २० प्रतिशत भौतिक प्रगति भएको बताउनु भयो । निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माणको काम अलपत्र परेको बताउनु भयो । समयमा भवन निर्माणका लागि स्थानीय तहले निर्माणको जिम्मा लिएका ठेकेदारलाई ताकेता गरिरहे पनि अटेर गरेको बताउनु भयो ।

सङ्घीय सरकारको बजेटमा स्थानीय सरकारसँग क्याराभान कन्स्ट्रक्सनले १२ करोडमा लागतमा भवन निर्माणका लागि ०७८ जेठ १० गते सम्झौता गरेको थियो । विभिन्न समस्या देखाएपछि समयमै काम नगर्दा ०८० वैशाख र ०८१ जेठ महिनाम दुई पटक म्याद थप गरेपनी काम हुन सकेको छैन । भवनले गति नलिँदा अस्पताले दिने सेवा सुविधा नागरिकले पाउनबाट वञ्चित भएको छन् । स्वास्थ्य चौकीको भवनमा स्थानीय सरकार र प्रदेश सरकारले थप गरेको भवनबाट नगर अस्पतालले सेवा प्रवाह गरेको छ । सिअहेव धनञ्जय रिजालले साँघुरो भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नु परेको बताउनु भयो ।

करोडौँ बजेटको भवन निर्माण अलपत्र परेपछि साँघुरो भए पनि सेवा दिएको बताउनु भयो । तोकिएको समयमा भवन निर्माण नहुँदा गाउँवस्तीमा बिरामीले पाउने उपचार सेवा बाहिर पठाउनु पर्ने बाध्यता छ । अस्पताल भवन अलपत्र परेपछि सेवाग्राहीलाइ सास्ती हुने गरेको छ ।


बासुदेव शर्मा