तीन महिनादेखि बन्द मन्दिरमा दलित र गैरदलितसँगै प्रवेश

  ०७३ पुस ११ गते

दलित महिलालाई मन्दिर प्रवेशमा रोक लगाएको भन्दै नारायणी नपा-६ मा रहेको चन्द्रकला देवीको मन्दिरमा विगत तीन महिनादेखि ताला लगाइएकोमा पुस ९ गते स्थानीय दलित युवाको अगुवाइमा दलित र गैरदलित संयुक्त रूपमा मन्दिर प्रवेश गरेका छन् ।

photo20161226chitwan

ब्राम्हण क्षेत्री समुदायका महिलाले स्थानीय दलित महिला प्रेमकुमारी विकलाई मन्दिर प्रवेश गरेको भन्दै आपत्तिजनक शब्दले गालीगलौज गरेको आरोपमा तीन महिनादेखि मन्दिर बन्द थियो ।

पुस ९ गते आरोपितलाई माफी मगाइ सबैजना मिलेर मन्दिर प्रवेश गरिएको स्थानीय पत्रकार अञ्जनकुमार हिमालीले जानकारी दिए ।

photo20161226chitwan1

चितवनको नारायणी नपा-६ देवीस्थानमा गत असोज २४ गते नवमीका दिन मन्दिर पुजा गर्ने सन्दर्भमा कथित सानो जात भएको भन्दै स्थानीय दलितहरू अपमानित हुनु परेको थियो । स्थानीय ज्ञानु भण्डारी, रविलाल भण्डारी र डिल्ली शर्मालगायतले दुर्व्यवहार गरेको दलितहरूको आरोप छ ।

सोही घाटनको विरोध गर्दै स्थानीय जनजागरण युवा क्लब तथा वुद्धिजीबीहरूको अगुवाइमा मन्दिर व्यवस्थापन समितिलाई सार्वजनिक स्थानमा सबैको समान हकको लागि सत्यतथ्य बुझ्न पत्र पेश गरिएको थियो ।

पत्र पेश गरेको तीन महिनापछि पुस ९ गते संयुक्त रूपमा मन्दिर प्रवेश गरिएको स्थानीय अगुवा मोतीकृष्ण विश्वकर्माले जानकारी दिए । गाउँको घटना गाउँ स्तरमै मिलाउने दबाव आएपछि पीडितले यस विषयमा प्रहरी र अन्य अधिकारकर्मीलाई जानकारी गराएका थिएनन् ।

चितवनका विभिन्न राजनीतिक दल र सबन्धित निकायबिच सर्वदलीय छलफलसहितको सचेतात्मक कार्यक्रम आयोजना गरी मन्दिर प्रवेश गरिएको थियो ।

चितवन बार एसोसियशनका अध्यक्ष अधिवक्ता गोपिलाल देवकोटाले सचेतनाको अभाबमा अझै पनि समाजमा जातीय विभेदका घटना रहिरहेको बताए ।

कार्यक्रम पश्चात देवीस्थान मन्दिरमा सबै जातिले समान तरिकाले पुजाआजा गर्न पाउने लिखित हस्ताक्षर गरिएको थियो ।


दिपेन्द्र अधिकारी