तीन महिनादेखि आँखा उपचार केन्द्र बन्द ः सेवाग्राही मर्कामा

  २०७९ असोज ३१ गते

त्रिपुरासुन्दरी नगरपालिकास्थित प्राथमिक आँखा उपचार केन्द्र तीन महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन । त्रिपुरासुन्दरी नगरअस्पताल अन्तरगत रहेको प्राथमिक आँखा उपचार केन्द्र जनशक्तिको अभावमा तीन महिनादेखि बन्द अवस्थामा छ । आँखा उपचार केन्द्र बन्द हुँदा आँखा रोगका बिरामी उपचारका लागि सदरमुकाम दुनैमा जानुपर्ने बाध्यता रहेको छ ।

आफ्नै नगरमा आँखाको उपचारका साथै चश्मा समेत पाइन्छ भनेर त्रिपुरा प्राथमिक आँखा उपचार केन्द्रमा पुग्नु भएकी त्रिपुरासुन्दरी नपा–११ की ६८ वर्षीया मनमाया डसालले कर्मचारी नहुँदा आँखाको परिक्षण गर्ने मसिन समेत थन्केर रहेकोमा दुख ब्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो “बाबु मइले उपचार नपाएकोमा दुख भन्दा पनि दुई महिना अघि राम्रो उपचार सेवा पाइरहेको खवर सुनेकी थिए तर यत्तिखेर भएको कर्मचारी राजनीतिक पूर्वाग्रहमा हटाएर नयाँ कर्मचारी नगरले व्यवस्थापन गर्न नसक्नुमा ठूलो दुख लागेको छ ।”

त्रिपुरासुन्दरी नगर कार्यपालिकाको ०७९ असार ६ गते बसेको बैठकले ०७९ साउन १ गतेदेखि करार सेवाका कुनैपनि कर्मचारीको म्याद नथप्ने निर्णय गरेसँगै नेत्र सहायक अमृत कठायतलाई हटाएपछि आँखा उपचार केन्द्र बन्द छ । नेत्र सहायक हटाएसँगै आँखा परिक्षण गर्ने लाखौ मुल्यको सलाइट ल्याम्प नामक उपकरण पनि थन्किएको त्रिपुरासुन्दरी नगर अस्पतालकी इन्चार्ज शान्ति रावलले बताउनु भयो ।

नगर प्रमुख जनचन्द्र रोकायाले कर्मचारी अभावका सन्दर्भमा नगरले नयाँ नेत्र सहायकको लागि दरखास्त आह्वानको सूचना जारी गरेपनि कसैको दरखास्त नपरेको र कर्मचारी डोल्पामा आउन नचाहेको बताउनु भयो । उहाँले भन्नु भयो नगर हरसम्भव छिटोभन्दा छिटो नेत्र सहायकको व्यवस्थापनमा लाग्ने छ । यसैगरी अस्पतालमा रहेको एक्सरे मसिन पनि दुई वर्षदेखि थन्किएर रहेको अस्पतालले जनाएको छ । गर्भवति महिला लगायत सर्वसाधारणको स्वास्थ्य परिक्षणका लागि ल्याइएको एक्सरे मसिन थन्किएर रहँदा साधारण एक्सरेको लागि पनि सदरमुकाम दुनै र नेपालगञ्ज लगायतका शहरमा जानु पर्ने बाध्यता रहेको अस्पतालका अहेव कबिप्रसाद उपाध्यायले बताउनु भयो ।


विष्णु प्रसाद देवकोटा