तीन वर्षदेखि सम्पर्कविहीन बुबाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध

  ०७९ जेठ ११ गते

रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन वर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ ।

डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका लागि स्थानीय ठेकदारसँग घरबाट हिडेका शारदा नपा–६ सापमारा निवासी ४६ वर्षीय सुकलाल एरी तीन वर्षदेखि सम्पर्क विहिन भएपछि परिवारले खोजी कार्यमा सहयोग गरीदिन अनुरोध गरेको हो ।

गाउँकै स्थानीय भागिराम बुढाथोकीसँग ०७५ मङ्सिर २१ गते घर प्लास्टर गर्ने काम गर्न भन्दै घरबाट हिडेको तर तीन वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलासका लागि सहयोग गरीदिन छोरी रेखा एरीले जेठ ११ गते इन्सेक लगायतका अधिकारकर्मी तथा संचारकर्मीलाई अनुरोध गर्नु भएको छ ।

डोल्पाको दुनैमा पुगेर काम सुरु गरिसकेको भनेर घरमा खवर आएका एरी ०७६ भदौ महिनादेखि घरपरिवार तथा आफन्तको सम्पर्क विहिन भएको छोरी रेखा एरीले जानकारी दिनु भएको छ । एरीलाई काममा लगाउने भन्दै घरबाट दुनै लगेका बुढाथोकी त्यहाँ पुगेको केही समयपछि घर फर्किएका थिए । बुढाथोकीले आफूले सल्यानबाट कामको लागि लगेका एरीलाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीज्यूलाका ठेकदार अर्जुन विकको जिम्मा दिएर घर फर्किएको परिवारलाई बताएका छन् ।

उता राडीज्यूलाका ठेकदार विकले भने एरी दुनैको काम सकाएर घर जाने भनेर हिडिसकेको बताउँछन् । तर विगत तीन बर्षदेखि बुवा घरमा नआएको र सम्पर्कमा पनि नभएको छोरी रेखाले बताउनुभयो ।

‘बुवाको अवस्थाका बारेमा हामी अनविज्ञ छौँ, ठेकदारले घर फर्किसक्नुभएको हो भन्छ, तर बुवा घर आउनुभएको छैन, कुर्दाकुर्दा तीन बर्ष वित्न लागिसक्यो, उहाँले भन्नुभयो ‘दुनैमा हाम्रो चिनेको कोही छैन्, बुवाको मोबाइल नम्बरमा सम्पर्क हँुदैन्, बुवा जिउदोँ हुनुहुन्छ या मृत्यु भइसक्यो त्यो नि थाहा छैन ।’

तीन बर्षदेखि सम्पर्क विहिन बुवाको खोजतलासका लागि दुई पटक जिल्ला प्रहरी कार्यालय, सल्यानमा निवेदन दिएको भएपनि प्रहरीले समेत बेवास्ता गरेको रेखाको आरोप छ ।

‘बुवाको अवस्थाका बारेमा बुझ्न सजिलो होला भनेर दुई पटक प्रहरीमा निवेदन समेत दिए, तर जिल्ला बाहिरको घटना भन्दै प्रहरीले वास्ता नै गरेन, उहाँले भन्नुभयो ‘बुवालाई कामको लागि घरबाट लगेका बुढाथोकी र राडीज्यूलाका ठेकदार बिक दुबैमाथि प्रहरीले छानबिन ग¥यो भने वास्तविकता पत्ता लाग्नसक्छ, तर हामीसँग पैसा छैन्, हाम्रो पक्षमा बोलिदिने पनि कोही छैन् ।

घरको मुली बुवा नै सम्पर्क विहिन भएपछि घर चलाउन निकै समस्या भएको रेखाको भनाई छ । अहिले आमा, भाई रेखासँगै बस्दै आएका छन् ।
पीडित छोरीले बुवाको खोजीकार्यमा सहयोग गरिदिन इन्सेकलाई अनुरोध गरे लगतै जिल्ला प्रहरी कार्यालयमा यस विषयमा जानकारी लिदा जिल्ला प्रहरी कार्यालय, सल्यानले यस विषयमा परिवारको निवेदनका आधारमा मातहतका सबै निकायलाई खवर गरिसकेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी सुमित खड्काले एरीलाई काममा लगाउने भनेर घरबाट दुनै लगेका दुबै ठेकदारलाई बोलाएर यस विषयमा थप छलफल गरिने आश्वासन दिनु भएको छ ।
SalyanPhoto_2022-05-25


मिना बुढाथोकी