तीन पटक तलाक शब्द उच्चारणबाट एक महिला पीडित

मुस्लिम धर्मग्रन्थ कुरान अनुसार तीन पटक तलाक भन्ने शब्द उच्चारण गरे सम्बन्ध विच्छेद हुने अवस्थालाई नेपालको संविधानले बर्जित गरेपनि सोही शब्दका कारण बर्जु गाउँपालिका–६ चिमडी अमाहीबेलाकी एक महिला तलाकको पीडामा परेकी छिन् ।

एक छोरा र एक छोरीकी आमा २२ वर्षीया खुर्सीदा खातुनलाई पति नौसाद आलमले साउन ४ गते तीन पटक तलाक–तलाक भनेपछि घर छोडेर बाहिर निस्कनु पर्दा आफू पीडामा परेको खुर्सीदाले बताइन् ।

मुस्लिम पारिवारिक कानुन र कुरान अनुसार पतिले तीन पटक तलाक भनेपछि पत्नीले घर छोडेर बाहिरिनुपर्ने कु–संस्कारका कारण खातुन बिचल्लीमा परेको अधिकारकर्मी चुन्नी खातुनले बताइन् ।

सुर्खीदाले बैवाहिक जीवन चार वर्षयता राम्रोसँग चलेको र दुई महिनाअघि देखि सामान्य विषयमा खटपट हुँदा ४ गते पतिले तीन पटक तलाक–तलाक भनेको बताइन् ।

उनले आफू पीडामा परेसँगै न्यायको लागि इस्लाम धर्म गुरू र जिल्ला प्रहरी कार्यालय सुनसरीको शरणमा पुगेपनि न्याय पाउन नसकेको गुनासो गरिन् ।

पीडितले साउन १० गते न्यायका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दिएको अधिकारकर्मी चुन्नी खातुनले बताइन् । अधिकारकर्मी खातुनका अनुसार सुनसरीमा यसखाले हिंसाबाट धैरे महिला पीडित हुने गरेका छन् ।


जयकृष्ण यादव