तीनपाटनका ज्येष्ठ नागरिकले पाएनन् सामाजिक सुरक्षा भत्ता

  ०७८ असोज २७ गते

तीनपाटन गाउँपालिकाका ज्येष्ठ नागरिकहरूले दशैँको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

जिल्लाका अन्य स्थानीय तहले दशैँको लागि भन्दै दशैँ अगावै सामाजिक सुरक्षा भत्ता वितरण गरे पनि यहाँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएका हुन् ।

अघिल्लो वर्ष सामाजिक सुरक्षा भत्ताले दशैँ मानेका ज्येष्ठ नागरिक र लक्षित वर्गका ३ हजार ७ सय ८० जनाले यो वर्ष स्थानीय सरकारको कमजोरीका कारणसामाजिक सुरक्षा भत्ता समयमा नै पाउन सकेनन् । उनीहरूले सामाजिक सुरक्षा भत्ता कहिले पाउने भन्ने अझै अन्योल रहेको प्रतिक्रिया दिएका छन् ।

असार १० गते गाउँसभा उद्घाटन गरेको गाउँपालिकाले आन्तरिक किचलोका कारण असोज ८ गते मात्र बजेट ल्याएको थियो । असार २५ गतेभित्र बजेट ल्याइसक्नु पर्ने व्यवस्था भएपनि किचलोका कारण असोजमा मात्रै बजेट आएको हो ।

गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले गाउँपालिकाको निर्माणधिन प्रशासनिक भवन निर्माणमा १५ प्रतिशत भेरियस रकम ७२ लाख रुपियाँ थप गर्नु पर्ने र कार्यपालिका सदस्यहरूले रकम थप गर्दा विधि र नियम विपरीत हुने भन्दै भेरियस रकम थप गर्न नहुने भन्ने विवाद रहेको थियो ।

जनप्रतिनिधिको आन्तरिक किचलोका कारण बजेट ढिला आउँदा, सामाजिक सुरक्षा भत्ता निकासा हुन सकेन ।

सो रकम निकासा नहुँदा ७० वर्ष भन्दा माथिका १ हजार ९ सय २१ जना, २ सय ७६ जना दलित ज्येष्ठ नागरिक, ३ सय ७ जना ज्येष्ठ नागरिक एकल महिला, ३ सय ६५ जना एकल महिला, १ सय २७ जना पूर्ण अपाङ्गता भएका व्यक्ति, २ सय ६ जना अति अशक्त अपाङ्गता भएका व्यक्ति, ५ सय ४६ जना दलित बालबालिका र ३२ जना लोपन्मुख नागरिकले भत्ता नपाएका हुन् ।

भत्ता लिन वडा कार्यालयमा आएका ज्येष्ठ नागरिकलाई गाउँपालिकाले रकम निकासा नगरिदिँदा रित्तै फर्काउनु परेको वडा नं. १ का अध्यक्ष गोबिन्द राउतले जानकारी दिनुभयो ।

वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएकोमा वडा कार्यालयमा नै भत्ता बुझ्न आएकाहरूलाई रित्तै फर्काउनु परेको उहाँले बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङले सामाजिक सुरक्षा भत्ता दशैँअघि नै वितरण गर्ने तयारी गरिएपनि ढिला भएको बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता दशैँ सकिएलगत्तै वितरण गरिने उहाँको भनाइ छ । गाउँपालिकाले बैङ्किङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाएको पनि उहाँले बताउनुभयो ।


नबीनबाबु अधिकारी