तिवारी हत्या घटनाको अनुसन्धान गर्न छानविन समिति गठन

एमाले निकट भातृ सङ्गठन युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्ष ३९ वर्षीय दुर्गाप्रसाद तिवारीको हत्या घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिन भित्र गृहमन्त्रालयमा पेश गर्न नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको अध्यक्षतामा चार सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ ।

गृह मन्त्रालयले पुस ५ गेत प्रेस विज्ञप्ति जारी गरी तिवारी हत्याबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको जनाएको छ ।

नेपाल प्रहरीबाट तिवारीमाथि गोली प्रहार गर्ने व्यक्तिहरूको खोजतलास तत्कालै तीव्र पारिएको र हालसम्म फेला पारी नसकेको एवम् खोजी कार्य जारी नै रहेको विज्ञप्तिमा भनिएको छ ।

समितिले घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिनभित्र मन्त्रालयलाई बुझाउने जारी विज्ञप्तिमा जनाइएको छ ।

बुधबारदेखि नै समितिले काम गर्ने विज्ञप्तिमा उल्लेख छ । गुह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार समितिका अन्य सदस्यमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी, नेपाल प्रहरीका एसएसपी मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराज जोशी रहेका छन् ।

युवा सङ्घले आज नै गृहमन्त्री विमलेन्द्र निधीलाई भेटेर समिति गठन नगरे नेपाल बन्द जस्ता आन्दोलन गर्ने चेतावनी दिएको थियो । पुस ४ गते तिवारीलाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली हानेका थिए र तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा ज्यान गएको थियो ।

 


इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय