तिला नदीको दुषित पानी खान बाध्य छन् कैदीबन्दी

जिल्ला कारागार शाखा जुम्लाका कैदीबन्दीहरू तिला नदीको दुषित पानी खान बाध्य भएका छन् । सुख्खा मौसमका कारण पानीको स्रोत घट्दै गएपछि कारागारमा पानी नपुग्ने भएका कारण कैदीबन्दी लगायत प्रहरी र कर्मचारी नदीको दुषित पानी खान बाध्य भएका हुन् ।

Photo20171228Jumla

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख गरिए पनि स्वास्थ रहनका लागि कैदीबन्दीहरूले सुद्ध पानी खान पाइरहेका छैनन् । उक्त धाराको उपधारा (४) मा 'प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।'-भनिएको छ ।

संविधान अनुसारको हक उपभोग गर्न नपाएको कारागारका कैदी विरबहादुर ऐडीले गुनासो गरे । कारागारका कर्मचारी सुर्य महरीले खानेपानी अभावका कारण कारागारका कैदीबन्दीदेखि कर्मचारी र सुरक्षाकर्मी सबैले तिला नदीको दुषित पानी खाने गरेको गुनासो गरे ।

Photo20171228Jumla1

उनले भने-'जिल्ला खानेपानी तथा सरसफाई कार्यालयदेखि विभागसम्म खानेपानीको विषयमा कुरा पुर्‍याए पनि समस्याको समधान भएको छैन ।' जिल्ला सदरमुकाम खलङ्गा बजारमा खानेपानी उपलव्ध गराउँदै आएको खलङ्गा खानेपानी उपभोक्ता समितिलाई खानेपानीको विषयमा गुनासो गरे पनि सुनुवाइ नभएको उनले बताए ।

१ सय ८० जना क्षमत भएको (घ) श्रेणीको कारागारमा ४० जना कैदी र ७ जना थुनुवा गरी ४७ जना रहेका छन् । त्यसैगरी कारागारको सुरक्षाका लागि खटिएका २२ जना सुरक्षाकर्मी र कारागार प्रशासनका लागि ८ जना कर्मचारी रहेको जिल्ला कारागार जुम्लाले जनाएको छ ।

खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर थापाले कारागारलाई सिधै प्रमुख लाइनबाट पानी दिएको बताए । उनले भने-'पहिला पानी गएकै थियो । अहिलेसम्म मलाई थाहा थिएन । अब समस्या समाधानका लागि तत्काल प्रक्रिया अघि बढाउँछु ।'

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार कारागारमा भएको खानेपानीको समस्याका बारेमा आफूलाई जानकारी भएको भन्दै त्यस विषयमा क्षेत्रीय प्रशासन कार्यालय र कारागार व्यवस्थापन विभागमा समेत जानकारी गराउने बताए ।

उनले कारागारमा धेरै पानी खपत हुने भएकोले मुहानबाटै छुट्टै पानीको लाइन ल्याउनुपर्ने भएकोले त्यसका लागि बजेट व्यवस्थापन गरी समस्या समाधन गर्नुपर्ने बताए । 'जुम्लामा विद्युतको पनि समस्या भएकाले मोटरबाट पानी तान्न पनि समस्या छ ।'-उनले भने ।


मानदत्त रावल