ताला बन्दीले गाउँपालिकाको सेवा प्रभावित

  ०७९ साउन ९ गते

गोलञ्जोर गाउँपालिकामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले ताला बन्दी गरेपछि गाउँपालिकाको सेवा ठप्प भएको छ ।

कांग्रेसले गरेको आन्दोलनका कारण ०७९ साउन १ गतेदेखी गाउँपालिकाले प्रदान गर्ने सेवा प्रभावित भएको हो ।

गाउँपालिकाको मूल गेटमा बसेर आन्दोलन गर्दै आएका कांग्रेसका कार्यकर्ताहरूले साउन ५ गते गाउँपालिकाको मूल गेटमा ताला लगाएपछि गाउँपालिकाको सेवा ठप्प भएको हो ।

गाउँपालिकाले कार्यसम्पादनमा कमजोर पाइएको भन्दै २२ कर्मचारीहरूको म्याद नथपेपछि त्यसैलाई आधार बनाएर नेपाली कांग्रेसका कार्यकर्ताहरुले कार्यलय घेराउ देखी ताला बन्दी गरेका हुन् ।

२०७८ पुस यता नियुक्त गरेका र कार्यसम्पादन मूल्याङ्कनमा कमजोर करार कर्मचारीलाई साउनदेखि करार अबधी थप नगरिएको सूचना सार्वजनिक गरेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले कर्मचारीको म्याद थपिनुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् ।

आन्दोलनरत पक्षले बिना करण गाउँपालिकामा ताला लगाएको गाउँपालिका अध्यक्ष शंकर बरालले बताउनुभयो । आन्दोलनरत पक्षसँग छलफल गरी समस्या समाधान गर्न लागि परेको उहाँले बताउनुभयो । ताला बन्दीका कारण सेवा लिन आएका सेवाग्राहीहरू उसै फर्कनु परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

कार्यालय प्रवेशद्वारमा लगाएको ताला खोल्ने क्रममा प्रहरीले साउन ८ गते बल प्रयोग गरेको थियो ।

सो क्रममा सामान्य झडपमा कार्यापालिका सदस्य राजकुमार माझीको औँला च्यापिएपछि स्थानीय प्राथमिक उपचार गरिएको छ । त्यसपछि प्रहरी प्रशासनले पनि ताला खोल्ने प्रयकास गरेको छैन ।


नबिनबाबु अधिकारी