तालाबन्दीले पाँच ओटा वडा कार्यालयको काम ठप्प, जनजीवन प्रभावित

  ०८१ कात्तिक ८ गते

Photo 20241024 Saptari

हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. ५, ६, ७, १२ र १३ को वडा कार्यालयहरूमा तालाबन्दी हुँदा एक सातादेखि कामकाज ठप्प छ । राहत वितरणमा काखापाखा गरेको भन्दै बाढी तथा डुबान पीडितहरूले असोज ३० गते गरेको तालाबन्दी नखोलिदा सम्पूर्ण कामकाज ठप्प भई जनजीवन प्रभावित बनेको हो ।

नाता प्रमाणित गर्ने, नागरिकता र प्रतिलिपीका लागि सिफारिस गर्ने, करको लेखाजोखा सिफारिश गर्नें, जन्म, विवाह, मृत्यु, बसाईं सराइ जस्ता घटना दर्ता गर्ने, निशुल्क उपचार सिफारिश गर्ने लगायतको कामकाज ठप्प हुँदा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रभावित भएको वडा नं. ७ का वडा अध्यक्ष राजेश्वर ठाकुरले बताउनु भयो । यसका अलावा वडा कार्यालयले उजुरी लिने, फैसला गर्ने, मिलापत्र गराउने, विषय प्रमाणीकरण गर्ने, नक्सा पास प्रमाणित गर्ने, नाता प्रमाणित, हकवाला, हकदार प्रमाणित, नामसारी सिफारिस, विकास निर्माणलगायत अनेकौ कामहरू गर्ने गर्छ ।

तालाबन्दीका कारण सेवा लिन आएका सेवाग्राहीहरू उसै फर्कनु परेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । तालाबन्दीले गर्दा सेवाग्राही मारमा परेको र सर्वसाधारण मर्कामा परेको वडा नं. १३ की मीनाकुमारी यादवले बताउनु भयो ।

उता माग सम्बोधन नभए नगरपालिका कार्यालयमा समेत तालाबन्दी गरी सशक्त आन्दोलन गर्ने चेतावनी दिदै हनुमाननगरबाट पुगेका प्रदर्शनकारीहरूले राजविराजमा समेत विरोध जुलुस निकालेका छन् । प्रदर्शनकारी सदानन्द मुखियाले अन्य वडाहरूमा समेत पारदर्शी किसिमले राहत वितरण गर्न ज्ञापन पत्र दिइएको र सुनवाई नभए ती वडाहरूमा समेत तालाबन्दी गरिने बताउनु भयो ।

राहत वितरणमा भएको काखापाखाले जनता विभेदमा परेको र तालाबन्दीले स्थानीयको जनजीवनमा प्रत्यक्ष असर पारेको वडा नं. १२ की सीतावती मण्डलले बताउनु भयो । सप्तकोशीनदी किनारमा जम्मा १४ वडा रहेको हनुमाननगर कंकालिनी नगरपालिकामा २६ हजार सात सय ६५ पुरुष र २६ हजार ३१ महिला गरी ५२ हजार ७ सय ९६ जनसङ्ख्या रहेको छ ।


मनोहरकुमार पोखरेल