तराई मधेस आन्दोलनबारे बुझ्दै छानबिन आयोग
तर्राई, मधेस र थरुहट आन्दोलनको क्रममा भएको घटनाहरू बारे सत्य तथ्य पत्ता लगाउन सरकारले पर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोगले महोत्तरीका पीडितसँग छलफल तथा उजुरी सङ्कलन सुरु गरेको जनाएको छ ।
संविधान जारी हुनु पूर्व तथा पश्चात तराई मधेस र थरूहट आन्दोलनको क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी तथा मानव अधिकार हननका घटनाबारे जानकारी लिन, पीडित परिवारको समस्या बुझ्न र घटनास्थलको स्थलगत निरीक्षण गर्न आयोगका अध्यक्ष गिरीशचन्द्र लालसहित आयोगका सदस्यहरू सुर्यप्रसाद कोईराला, नवराज ढकाल, सुखचन्द्र झा, सुजन लोप्चनसहित आयोगका कर्मचारीहरू दुई दिनदेखि महोत्तरीमा छन् ।
चैत १२ गतेदेखि सुरु भएको स्थलगत निरीक्षण चैत १४ गतेसम्म जारी रहने तथा यस क्रममा महोत्तरीमा भएका मानव अधिकार हननसम्बन्धी घटनाहरूको निरीक्षण, प्रमाण तथा उजुरी सङ्कलन एवम् सरोकारवालासँग विमर्श गरिने आयोगका अध्यक्ष गिरीशचन्द्र लालले बताए । आयोगका अध्यक्ष लालका अनुसार आयोगमा हालसम्म १ हजार ३ सय उजुरी दर्ता भइसकेका छन् । सयौँ उजुरी अझै पनि दर्ता हुन बाँकी रहेको उनले बताए ।
तराई मधेस आन्दोलनको क्रममा जलेश्वर नपा-७ बजराही का १७ वर्षीय रोहन चौधरी, महोत्तरी गाविस-५ का २२ वर्षीय रामविवेक यादव, जलेश्वर नपा-१४ बखरीका २२ वर्षीय मुसवा भनिने अमित कापरको ०७२ भदौ २३ गते जलेश्वरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबिच भएको झडपमा प्रहरीले प्रहार गरेको गोली लागी मृत्यु भएको थियो भने सोही घटनामा घाइते भएका पिगौना गाविस-५ का ३२ वर्षीय विरेन्द्र विच्छालाई थप उपचारका लागि काठमाडौँ लगिएकोमा उपचारको क्रममा नर्भिक अस्पतालमा भदौ २५ गते मृत्यु भएको थियो ।
त्यस्तै जलेश्वर नपा-७ का ६० वर्षीय गणेश चौधरी र हात्तिलेट-९ घर भएकी ३६ वर्षीया रामशिला मण्डलको ०७२ भदौ २५ गते जलेश्वरमा मधेसी मोर्चा र प्रहरीबिच भएको झडपमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।
टोलीले मधेस आन्दोलनको क्रममा ०७२ भदौ २५ गते मधेसी मोर्चाले कुटपिट गरी हत्या गरिएका सशस्त्र प्रहरीका असई २५ वर्षीय थमनबहादुर बिकको हत्याको छानबिन गर्न चैत १३ गते महोत्तरी नपा-१ स्थित सनउखडा पुगेको थियो ।
आन्दोलनको क्रममा घाइते भएका र उपचारको लागि जलेश्वरबाट एम्बुलेन्समा जनकपुर अञ्चल अस्पतालमा लैजाने क्रममा असई बिकलाई एम्बुलेन्सबाट थुतेर कुटपिट गरी निर्ममतापूर्वक हत्या गरिएको थियो ।
हत्याको अभियोगमा जिल्ला अदालत महोत्तरीमा दर्ता गरिएको कर्तव्य ज्यान मुद्दामा २८ र एम्बुलेन्समा आगजनीसम्बन्धी मुद्दामा २५ जनाको नाममा प्रहरीले मुद्दा दर्ता गरिसकेको छ ।
आन्दोलनको क्रममा मृत्यु भएका पीडित परिवारजनले आयोगका टोलीसमक्ष सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली हानेको आरोप लगाएका थिए ।
'अपराधिमाथि कारबाही हुनुपर्छ ।'-भन्दै पीडित परिवारजनले टोलीसमक्ष आक्रोश व्यक्त गरेका थिए । 'न सरकारले कुनै सहयोग गर्यो, न त मधेसी मोर्चाका नेताहरूले नै वास्ता गरे,'-भावुक बन्दै उनीहरूले आयोगका प्रतिनिधिहरू माझ दुःखेसो पोखेका थिए ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…