तनहुँमा डेङ्गीबाट तीन जनाको मृत्यु, ३ हजार ७ सय ७९ जना सङ्क्रमित

तनहुँ जिल्लामा डेङ्गीबाट तीन जनाको मृत्यु भइसकेको छ भने, हालसम्म ३ हजार ७ सय ७९ जना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकामा ३ हजार २ सय ३९ जना डेंगुका बिरामी रहेका छन् ।

व्यास नगरपालिकापछि शुक्लागण्डकी नगरपालिकामा १ सय ४३ जना, भिमाद नगरपालिकामा ९७ जना, ऋषिङ गाउँपालिकामा ७८ जना, म्याग्दे गाउँपालिकामा ५९ जना डेङ्गीका बिरामी रहेका छन् । त्यस्तै भानु नगरपालिकामा ५८ जना, आवुँखैरेनी गाउँपालिकामा ३९ जना, बन्दिपुर गाउँपालिकामा २७ जना, घिरिङ गाउँपालिकामा सात जना र देवघाट गाउँपालिकामा ६ जना डेङ्गीका बिरामी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संक्रमित मध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष रहेका छन् ।

कुल संक्रमितको ८६ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनु भयो ।

डेङ्गी विरुद्ध सबै स्थानीय तहले लामखुट्टेको लार्भा ‘खोजौ र नष्ट गरौं’ अभियान सञ्चालन गरेका छन् । लामखुट्टेको सम्भावित बासस्थानहरु नष्ट गर्ने तथा सरसफाई प्रति सचेतना जगाउने काम गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले बताउनु भयो ।

जिल्लाका सबै विद्यालयहरुमा पनि डेङ्गी नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धबराज जमरकट्टेलले बताउनु भयो ।

डेङ्गीका बिरामीले एउटा सरकारी र अन्य सबै नीजि अस्पतालहरु भरिएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताउनु भयो । डेङ्गीको अन्य औषधि नहुने हुँदा सिटामोल खानु पर्ने र अवस्था जटिल भएमा स्वास्थ्य संस्थामा आउन बिरामीलाई आग्रह गरिएको डा. बरालले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले परीक्षणको शुल्कमा एकरुपता ल्याउन अनुमगन कार्यलाई तिब्रता दिइएको, अस्पतालमा बेडको क्षमता थप गर्ने, बढी प्रभावित क्षेत्रमा घरदैलोमा पुगि सचेतना जगाउने कार्यक्रम गरिएको र जोखिम कायम नै रहेकोले निरन्तरता दिनु पर्ने बताउनु भयो ।


प्रकाशचन्द्र भट्टराई