तथ्याङ्कको आधारमा प्राथमिकताको विषय निर्धारणः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले जिल्लाका मानव अधिकारको प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ ।

जिल्लाको यातायातसम्बन्धी समस्यालाई विशेष प्राथमिकतामा राखेर आयोगले मानव अधिकारसँग सम्बन्धित आमसरोकारका विषयहरूको प्राथमिकीकरण गरेको हो । यातायात समस्यालाई विशेष प्राथमिकतामा राखेको आयोगले स्वास्थ्य सेवालाई पहिलो, उपभोक्ता अधिकार र खाद्यान्नमा पहुँचलाई दोश्रो तथा बाल विवाह, बाल आहार, पोषण र शिक्षालाई तेश्रो प्राथमिकतामा राखेको जनाएको छ ।

यस्तै, महिला अधिकार र घरेलु हिंसा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतका अधिकार, जातीय विभेदविरूद्धको अधिकारलाई त्यसपछिको प्राथमिकतामा राखिएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका प्रमुख मोहनदेव जोशीले बताए ।

गत जेठ १६ गते आफ्नो १७ औँ स्थापना दिवसको अवसर पारेर गरिएको अन्तरसम्वादबाट निष्कर्षनिकाल्न नसकेपछि तथ्याङकका आधारमा जिल्लाको प्राथमिकता निर्धारण गर्ने निष्कर्षभएको थियो ।

अध्ययन, तथ्य र तथ्याङ्कका आधारमा आयोगको प्राथमिकताका विषयलाई टुङ्गो लगाएर आयोगको उपक्षेत्रीय कार्यालयले जेठ २१ गते केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेको छ ।


सुनिता मगर