पुनर्निर्माणको काम तत्काल थाल्न मानव अधिकार सञ्जालको ध्यानाकर्षण

  ०७३ कात्तिक ८ गते

भूकम्पपछि नीजि आवास निर्माणको काम हुन नसकेको गुनासो गर्दै तत्काल काम थाल्न मानव अधिकार सञ्जाल गोरखाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सञ्जालका अध्यक्ष यदु अधिकारीले तत्काल पुनर्निर्माण प्रक्रिया थाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयलगायतका निकायमा कात्तिक ६ गते ध्यानाकर्षण गराइएको बताए ।

जिल्लाका ५२ हजार चार सय १० परिवारलाई नीजि आवास निर्माणका लागि पहिलो किस्ताको ५० हजार निकासा भइसकेको अवस्थामा सो रकमको सदुपयोग हुने सुनिश्चितता गर्नुपर्ने सञ्जालको माग छ ।

रकम निकासा भएपनि पुनर्निर्माणको काम प्रारभ्भ नभएकाले घर खर्च मै रकम सकिने हो कि भन्ने आशङ्का उत्पन्न भएको सञ्जालका अध्यक्ष यदु अधिकारीले बताए । 'रकम सदुपयोग गर्न रकम लाने सम्बन्धित व्याक्ति, निकाय र नागरिकहरू सचेत हुनुपर्छ ।'-अधिकारीले भने ।

लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फारम भर्ने १५ हजार ५ सय परिवारको पनि अहिलेसम्म सम्बोधन हुन नसकेकोमा सञ्जालले ध्यानाकर्षण भएको जनाएको हो । तत्काल गुनासो फारम भरेकाहरूको छानबिन गरी रकम उपलब्ध गराउन पनि अधिकारीले माग गरे ।

५८ हजार ३ सय २४ लाभाग्राही सूची प्रकाशित भएको थियो । बाँकी भूकम्प पीडितको पनि अुनदान सम्झौता गरी रकम निकासा गर्ने तयारी भइरहेको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत सतिशकुमार भट्टराईले बताए ।

'गुनासो फारम भरेकाहरुको रुजु गर्ने काम भइरहेको छ ।'-भट्टराईले भने । हालसम्म करिव ४ हजार गुनासो फारम भरेकाहरूको रुजु भइसकेको उनको भनाइ छ ।

पहिलो किस्ता वापतको रकम पाएका भूकम्प पीडितले अहिलेसम्म नीजि अवास निर्माण थालेका छैनन् । तिहार लगत्तै घर निर्माण तीव्र गतिमा सुरु हुने भट्टराईको भनाइ छ । कतिपय भूकम्प पीडितले नीजि आवास निर्माणको लागि पाएको अनुदान रकमले चाडबाड मनाएको गुनासो पनि आउन थालेको छ । अहिलेसम्म पनि गोरखामा अनुदान रकमबाट कुनै पनि नीजि आवास निर्माण नभएको बताइएको छ ।


हरिराम उप्रेती