तत्काल दिनु पर्ने सुत्केरी उत्प्रेरणा भत्ता चार महिनापछि !

  ०७५ मङ्सिर २२ गते

२३ वर्षीया राधिका नेपाली सुत्केरी भएको चार महिना भयो । दोस्रो बच्चाको रूपमा उनले भदौ ११ गते बागलुङको नारायणस्थान स्वास्थ्य चौकीमा छोरालाई जन्म दिएकी थिइन् ।

बच्चा जन्माएर घर फर्कने बेलासम्म स्वास्थ्य संस्थाले सुत्केरी भत्ता नदिएपछि राधिका आफैँले स्वास्थ्य संस्थाका कर्मचारीलाई सोधिन्–‘अहिले सुत्केरी भत्ता दिन छोडिएको हो र ?’

स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट ऋषी शर्माले सुत्केरीलाई भत्ता दिने कार्यक्रम भएपनि साउन महिनादेखि यता स्वास्थ्य चौकीमा बजेट उपलब्ध नभएको भन्दै बजेट आउनेबितिक्कै घरै पु¥याइदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चार वर्ष पहिले जिल्ला अस्पताल पर्वतमा छोरी जन्मदा राधिकालाई अस्पतालले नियमित चेकजाँच गराएको भन्दै ४ सय र यातायात खर्च १ हजार गरी १ हजार ४ सय रुपियाँ दिएको थियो । तर, स्वास्थ्य चौकीमा बजेट नै आएको छैन भन्दा उनलाई अचम्म लागेको थियो ।

‘छोरा चार महिनाको भयो । म पनि दरिएर घरको काम काज गर्न थालिसकेकी छु ।’–राधिका भन्छिन्–‘स्वास्थ्य चौकीले मङ्सिर ७ गते बल्ल सुत्केरी भत्ता दिएको छ ।’

बागलुङ नगरपालिकाका ६ ओटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छन् । नगरपालिकाबाट ढिलो गरी बजेट निकासा हुँदा नगरपालिकाका बर्थिङ सेन्टरमा बच्चा जन्माएका २७ जना सुत्केरीहरूले चार महिनापछि मात्रै सुत्केरी भत्ता बुझेका छन् ।

देश सङ्घीय अभ्यासमा गएसँगै नगरपालिकामा पनि ढिलो गरी बजेटको अख्तियारी आएको कारणले बर्थिङ सेन्टरलाई समयमै बजेट उपलब्ध गराउन नसकेको बागलुङ नगर स्वास्थ्य शाखाका सिनियर अहेब सोमराज पाण्डे बताउँछन् ।

‘स्वास्थ्य संस्थाहरू प्रति नगरपालिका सधैँ गम्भीर छ ।’–पाण्डे भन्छन्–‘सुत्केरीलाई साउन महिनादेखि यता दिइने भत्ता र यातायात खर्चमा पनि वृद्धि भएको छ । तर, बजेट ढिला गरी आउँदा हामी सबैलाई समस्या भयो ।’

चालु आर्थिक वर्षमा नियमित स्वास्थ्य परीक्षण गराएका सुत्केरीहरूलाई ८ सय रुपियाँ गर्भवती उत्प्रेरणा भत्ता र २ हजार रुपियाँ यातायात खर्च गरी २ हजार ८ सय रुपियाँ दिने व्यवस्था रहको पाण्डेले जानकारी दिए ।

नियमत स्वास्थ्इ जाँच गराएका गर्भवती महिलाले बच्चा जन्माएलगत्तै दिनुपर्ने सुत्केरी उत्प्रेरणा भत्ता र यातायात खर्च चार महिना पछि भएपनि पाउँदा सुत्केरी आमाहरू खुसी भएका छन् ।

जिल्ला अस्पताल र जिल्ला बाहिरका स्वास्थ्य संस्थामा बच्चा जन्माएका छिमेकीहरूले भत्ता पाएको तर आफूले मात्र भत्ता नपाउँदा सुत्केरीहरूको स्वास्थ्य चौकी माथिनै गुनासो बढ्न थालेको समयमा बजेट निकासा ढिलै भएपनि राहत महसुस भएको अमलाचौर स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट दुर्गाप्रसाद शर्माले बताए ।

‘बजेट ढिलो आउँदा सुत्केरी गराउन आउने महिला र परिवारलाई विश्वास दिलाउन समस्या भएको थियो ।’–शर्माले भने–‘कतिले त हामीलाई नै पैसा आफूले खाएर नदिएको समेत पनि भनेका छन् । अहिले घरघरमा गएर भत्ता बुझाएपछि बल्ल मन हलुका भएको छ ।’

नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा नगरपालिकाका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलालाई एकमुष्ट रूपमा मङ्सिर ३ गते मात्रै स्वास्थ्य चौकीमा सुत्केरी उत्प्रेरणा भत्ता र यातायात खर्च पठाएको थियो ।

यो अवधिमा अमलाचौर स्वास्थ्य चौकीमा १० जना, नारायणस्थान स्वास्थ्य चौकीमा तीन जना, पैयूँपाटा स्वास्थ्य चौकीमा आठ जना, रायडाँडा स्वास्थ्य चौकीमा एक जना, भकुण्डे स्वास्थ्य चौकीमा एक जना र तित्याङ स्वास्थ्य चौकीमा चार जना गर्भवतीले बच्चा जन्माएका थिए ।


सिर्जना पन्त