ढुवानी टेण्डर नहुँदा पलाता क्षेत्रमा खाद्यन्न सङ्कट
जिल्लाको विकट पलाता क्षेत्रमा खाद्यन्न सङ्कट भएको छ । खिन धौलागोहमा खडेरीले अन्नबाली उत्पादन हुन नसकेपछि खाद्यन्न सङ्कट परेको हो । सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको खाद्य संस्थानको चामल गाउँका डिपोमा ढुवानी गर्न नसकेपछि यस क्षत्रमा खाद्यन्न सङ्कट भएको हो ।
सदरमुकाम मान्मबाट पश्चिम उत्तरी पलाता क्षेत्रमा पर्ने धौलागोह, खिन, थिर्पु, राम्नाकोट, नानीकोट र बदालकोटको ४ देखि ९ नम्बर वडासम्म खडेरीले गर्दा हाल खाद्य सङ्कट भएको छ । तल्लो क्षेत्रका गाउँमा सडक नजिक पुगेकाले खाद्यन्न ढुवानी गर्न त्यति कठिन नभए पनि सडकको पहुँचबाट निकै टाढा रहेका खिन र धौलागोहमा जिते, सान्निगाड बजारबाट चामल बोकेर लैजान पनि कठिन छ । खडेरीले पलाता क्षेत्रका करिब ३५ हजार बासिन्दा प्रत्यक्ष प्रभावित छन् ।
खाद्य सङ्कट भएको पलाता क्षेत्रको थिर्पु डिपोमा एक बोरा पनि चामल छैन । थिर्पुस्थित रणबहादुर बमको घरमा रहेको डिपोमा न चामल छ न कर्मचारी छन् । 'महिनौं भयो रित्तो छ डिपो !'-घरधनी बमले भने- 'चामल पाइन्छ कि भनेर दिनदिनै सोध्न आउँछन रित्तै फर्किन्छन् ।' खाद्य संस्थान मान्म शाखा प्रमुख अनिल श्रेष्ठले गत वर्षको कोटा सकिएकाले त्यहाँ चामल नभएको स्विकारे । 'यस वर्षको ढुवानी टेण्डर स्वीकृत भइ नसकेकाले चामल गएको छैन ।'-उनले भने ।
गत वर्ष कालीकोटमा कोटाको ७ हजार ८ सय क्वीन्टल र पछि थप भएको ८ हजार गरी १५ हजार ८ सय क्वीन्टल चामल आएकोमा थिर्पु डिपो बाहेक अन्यत्रको चामल मौज्दात छ । थिर्पु डिपोका लागि मान्मबाट १ हजार ९ सय ९९ क्वीन्टल र सुर्खेतबाट ६ हजार ४ सय क्वीन्टल गरी ८ हजार ३ सय ९९ क्वीन्टल चामल पलाता ढुवानी भएको थियो । हाल मान्ममा २ हजार १ सय ४७, खल्लागाडमा २ सय ६ र पादमघाटमा १ सय ७ क्विन्टल चामल मौज्दात रहे पनि पलाताको थिर्पु डिपोमा चामल छैन ।
सशस्त्र द्वन्द्वका बेला गाउँबाट विस्थापित भएर सदरमुकाम मान्ममा सीमित भएको थिर्पु खाद्य डिपोको चामल गाउँको नाममा पठाइए पनि ठेकेदारले सम्बन्धित ठाउँमा नपुग्दै विक्री गरेको स्थानीयबासीले गुनासो गरेका छन् । खिन, धौलागोह र थिर्पुका लागि राखिएको डिपो धौलागोह र खिनका बासिन्दाका लागि टाढा पनि छ । डिपोकै चामल लिन दुई दिन लाग्छ ।
चर्को खडेरीका कारण गर्मीले गाउँमा बस्न नसकेर धौलागोह बान्जाडा गाउँका बासिन्दा परिवार र गाईभैँसी लिएर तलसेरी लेकमा बसाइँ सरेको धौलागोह-५ का सनत न्यौपानेले बताए । उनका अनुसार पशुपालनसमेत गर्न नसक्ने अवस्थामा गाउँले पुगेका छन् ।
'पानीकै समस्याले केही चौपाया मरे, केही सस्तोमा विक्री गर्न थालेका छौँ ।'-खिन गाविसका बिर्खबहादुर बमले दुख पोखे । पलाता क्षेत्रका बासिन्दासँग खाद्यान्न किन्ने पैसाको पनि अभाव छ । 'गाउँमा ऋण सापट नपाइने अवस्था छ ।'-खिन-१ नेटाका गङ्गबहादुर बुढाले भने-'घरमा रहेका तामा, पित्तल, काँसका भाँडाकुँडा र गरगहनासमेत सस्तोमा बेच्दै सकिए । अब केही छैन ।'
धौलागोह गाविस कालिकोटकै सबैभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने क्षेत्र हो । यहाँका १ हजार ४ सय घरधुरीमा ७ हजार बढीको बसोबास छ । यहाँ १० प्रतिशत स्थानीयलाई त्यो पनि ३ महिना मात्र खान पुग्ने अन्न उब्जिने गर्छ । अरू सबैले पानी नपरेको वर्ष 'बेसाहा' खोज्नैपर्ने बाध्यता छ ।
खडेरीका कारण अधिकांश किसानले हिउँदे बाली लगाउन त पाएनन् नै, केहीले लगाए पनि पर्याप्त पानी नपरेकाले उत्पादन नहुँदा खाद्य सङ्कटले चर्को रूप लिएको छ । 'अघिल्ला वर्षहरूमा विश्व खाद्य कार्यक्रमको 'कामका लागि खाद्यान्न' कार्यक्रम सञ्चालन भएकाले केही भरथेग थियो । तर, यो वर्ष त्यो कार्यक्रम छैन । खानेकुराको चर्को समस्या छ ।'-पलाता-४ का धिरबहादुर बमले भने ।
अन्य गाविसमा खडेरीले त्यति धेरै असर नपरे पनि पलाताका खिन धौलागोहमा उत्पादन नभएको जिल्ला कृषि विकास कार्यालय कालिकोटका वरिष्ठ कृषि विकास अधिकृत सुनीलकुमार सिंहले बताए ।
आकाशे पानीको भरमा खेती गरिने पलाता भेकमा खडेरीले उत्पादन नभएपछि खाद्यान्न सङ्कट परेको धौलागोह-५ का प्रभुलाल न्यौपानेले बताए । त्यस क्षेत्रमा बाली काट्न नपाएको तीन वर्षभइसकेको सुनाउँदै उनले बाली लगाए पनि खडेरीले उत्पादन नै नभएको गुनासो पोखे । 'हामीलाई बिख (विष) खानु जत्तिकै भयो ।'-जितेगडाबाट ब्याजे ऋण खोजेको पैसाले चामल लिएर फर्केका पलाता-२ का सरुने बिकले बताए ।
कालीवहादुर मल्ल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…