ढुङ्गाखानीका मजदुरलाई चुनावले छोएन

रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गाखानीमा काम गर्दै आएकी पार्वती परियारलाई चुनावको कुनै मतलब छैन । 'उज्यालो अँध्यारो खानीमै हुन्छ, नेताहरू भोट माग्न आएका छैनन ।'-उनले भनिन् । उनले इन्सेक प्रतिनिधिसँग उल्टै प्रश्न तेर्स्याइन्-'कुन चुनाव ? मलाई त थाहा छैन ।' पाँच जनाको परिवार ढुङ्गा कुटेरै पालेकी उनलाई चुनावले भन्दा बिहान साँझको गुजारा चलाउने समस्याले पिरोलिरहन्छ । 'श्रीमान बेथाले थला परेका छन् । उपचार गर्ने पैसो छैन ।'-उनले भनिन्-'औँला फुटालेर चुलो बाल्नेहरूलाई चुनाव किन चाहियो ?'-उनले गुनासो पोखिन् । रेसुङ्गा नपा-१२ का ६१ वर्षीय मिनबहादुर खत्री बिहान ६ बजे नै खानीमा आउँछन् । उनलाई चुनाव घोषणाले खासै हर्क छैन । 'गाउँमा चुनाव भन्दै तँछाड मछाड छ ।'-उनले भने-'उज्यालो भएपछि खानी, रातपरेपछि जानी ! अरु केही मतलब छैन ।'

Photo20170427Gulmi

लामो समयदेखि खानीमा काम गर्दै आएकी बाग्लुङ देविस्थानकी भगवती रोका मगरले धेरै पटक चुनावमा भोट हालिन् । तर, चुनावका बेला आश्वासन बाँड्ने र जितेपछि काम नगर्ने नेताहरूको प्रवृतिले भोट दिन मन नलागेको बताइन् । 'धेरै चुनावमा भोट दिएकै हो । आफ्नो बाध्यता र देशको परिस्थिति उस्तै छ ।'-मगरले भनिन्-'जुन जोगी आएपनि कानै चिरेका !' कसैलाई भोट हालेर समय बर्बाद गर्ने मनस्थिति उनको छ । 'आफ्नो त भाग्य नै ढुङ्गा रहेछ । खै त रोजगारी ?'-उनले प्रश्न गर्दै भनिन्-'आफ्नो दुःख कहीँ जाँदैन् ।'

Photo20170427Gulmi1

लालमाया परियारले दुई वटा छोरा ढुङ्गाखानी मै हुर्काइन् । ६ महिनाको छोरा सहित ढुङ्गाखानीमा आएकी उनकी उनले पति हुकुम परियार पनि खानीमै काम गर्ने बताइन् । 'ओत्ने त्रिपाल छैन । मनमा खुसी छैन ।'-उनले भनिन-'चिसो र गर्मी दुवै खाने हो । बेलामा उपचार गर्न सक्ने स्थिति छैन ।' मजदुरहरू दिउँसोको प्रचण्ड गर्मीमा वा पुस माघको कठ्याङग्रिदो चिसोमा खुल्ला आकाशमुनि दिनको १० घण्टा गिटी कुट्ने गर्छन् । खानीमै काम गर्ने ३० वर्षीया सावित्रा रानासँग सुत्केरी समय पनि खानीमा बिताएको अनुभव छ । 'सुत्केरी भएको डेढ महिनाबाटै खानीमा आएँ ।'-उनले भनिन्-'गरिबका लागि चुनाव आएको होइन ।' उनले १० दिनमा एक ट्रिप गिटी कुट्न सकिने बताइन् । एक ट्रिपको ३ हजार रुपियाँ आउने भएकाले बिहानै ढुङ्गाखानी आउने गरेको उनले सुनाइन् ।

Photo20170427Gulmi2

रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गा खानीमा १ सय ५० भन्दा बढी मजदुरले काम गर्छन । त्यसमा ८० प्रतिशत महिला रहेका छन् । 'धेरै महिलाहरूले गिटीको काम गर्ने भएकाले उनीहरू नै बढी छन् ।'- खानीकै ठेकेदार हरि बस्नेतले भने-'ढुङ्गा फोर्ने काममा केही पुरूष रहेका छन् ।' यो ठाउँ सदरमुकाम तम्घासबाट दुई किलोमिटर टाढा रहेको छ । खानीमा गुल्मीलगायत बाग्लुङ र प्यूठानका विभिन्न ठाउँबाट आएका मजदुरले काम गर्ने गरेका छन् । उनीहरूले फोरेका ढुङ्गा तथा गिटी सदरमुकाम तम्घासमा विक्री हुँदै आएको ठेकेदार हरि बस्नेतले बताए । अत्यन्तै डरलाग्दो पहाडै पहाडको भिरालो ठाउँमा रहेको खानी अत्यन्तै जोखिमपुर्ण रहेको छ ।  अनौपचारिक सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराको टोलीले ढुङ्गाखानीमा मजदुरहरूको अवस्था र चुनावी अवस्थाका बारेमा मजदुरहरूसँग भेटघाट गरेको थियो । पश्चिमाञ्चल संयोजक शिव खकुरेलले मजदुरहरूलाई मतदाता शिक्षाका विभिन्न विषयमा जानकारी लिएका थिए ।

.

.

.


टोपलाल अर्याल