ढल मिसिएको दुषित पानी पिउन बाध्य भएको स्थानीयको गुनासो

  ०७८ भदौ २८ गते

खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीको धारामा ढल मिसिएको दुषित पानी पिउन बाध्य भएको जनकपुरधामका खानेपानी उपभोक्ताहरूले गुनासो रहेका छन् ।

२०७७ फागुन महिनादेखि नै धारामा हिलो, धमिलो, पहेलो माटो मिसिएको लेदो सहितको दुषित पानी आउने गरेकाले सोही पानी पिउन बाध्य भएको जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने अशोक साहले बताउनु भयो ।

जनकपुरधाम उमनपा–११ मा डेरा गरी बस्दै आएका टेम्पो चालक रहेका अशोक साहले आफू बस्ने घरमा भएको कलमा समेत पानी आउन छोडेकाले खानेपानीको एक मात्र स्रोत नै खानेपानी संस्थानको मुख ताक्नुपर्ने बाध्यता रहेकोमा धारामा आउने दुषित पानी खानयोग्य नरहेको बताउनुभयो । खानेपानी संस्थानले वितरण गर्दै आएको पानी कपडाले छानेर पिउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

फागुनदेखि नै खानेपानी संस्थानको धारामा दुषित पानी आउने गरेको जनकपुरधाम उमपहानगरपालिका–९ सरस्वती टोल बस्ने गोमा कटुवालले गुनासो गर्नुभयो ।

खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी साँझ र बिहान नियमित रूपमा नदिने र दिएको बेलामा ढलको पानी र पँहेलो माटो मिसिएको पानी आउने गरेको बताउनुभयो ।

धारामा बाक्लो धमिलो दुषित पानी आएपछि आफूहरूलाई खानको लागि मिनिरल वाटरको जार किन्नुपर्ने बाध्यता रहेको जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने शेखर यादवले बताउनु भयो ।

धारामा दुषित पानी आउने गरेकाले हामीलाई नुहाउन, कपडा धुन र खाना पकाउन समेत समस्या हुँदै आएको बताउनुभयो ।

खानेपानीको धारामा फोहोर पानी आएको र समस्या समधान गर्न वडा कार्यालय, संस्थानको कार्यालयमा पटक पटक जानकारी गराउने गरेको बताउनुभयो ।

गर्मी सुरु हुन थालेपछि धारामा पानी नियमित नआउने र आउने पानीमा पहेलो, बाक्लो धमिलो, फोहोर र दुषित पानी आउने गरेको जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने सञ्जिव यादवले बताउनु भयो ।

खानेपानी संस्थानमा पटक–पटक गुनासो गर्दा धारामा आउने गरेको दुषित खानेपानीबारे संस्थानले चासो नदेखाएको यादवले गुनासो गर्नु भयो ।

जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र साहले खानेपानी संस्थानले जडान गरेको धारामा धमिलो पानी आउने गरेको बताउनुभयो ।

उहाँले आफ्नो घरको धारामा समेत धमिलो, दुषित र गन्हाउने पानी आउने गरेको बताउनुभयो । आफूलाई छिमेकी र वडाका बासिन्दाहरूले समस्याबारे जानकारी गराउने गरेको भएपनि खानेपानी वितरण गर्ने संस्थान आफैँ एक स्वायत्त संस्था भएकाले आग्रह गर्नु बाहेक अन्य निर्णय लिने अवस्था नरहेको वडाध्यक्षको भनाइ छ ।

प्रादेशिक अस्पताल जनकपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुनप्रसाद सिंहका अनुसार दुषित पानी पिउँदा अधिका‌ंश रोगको विजारोपण हुने गर्दछ ।

दुषित पानीको प्रयोगले झाडापखाला, हैजा, पेटसम्बन्धी विभिन्न रोग लागेर दिसा र पिसावमा समस्या हुने, मिर्गौलामा समेत असर पर्ने भएकाले स्वच्छ र सफा खानेपानीको प्रयोग गरिनुपर्ने बताउनुभयो ।

खानेपानी संस्थान जनकपुरका प्रमुख शिरिष राजभण्डारीले संस्थानमा जेनेरेटरको अभावले गर्दा साँझ र बिहान पानी वितरण गर्ने समयमा विद्युत कटौती हुँदा समयमा पानी पुर्‍याउन नसकेको बताउनु भयो ।

जनकपुरको भित्री सडक र जनकपुर–ढल्केवर सडकखण्डको मर्मत सम्भार र सडक विस्तारको कामले ठाउँठाउँमा धाराको पाइप काटिएकाले यस्तो समस्या भएको उहाँले बताउनु भयो ।

सडक विस्तार र माटो खन्ने क्रममा ठेकेदार पक्षले संस्थानका कर्मचारीहरूलाई समन्वय नगरी जथाभावी सडकको माटो कटान गर्दा धाराको पाइप फुट्ने गरेको उहाँले बताउनु भयो ।

C
C

दिपेन्द्रप्रसाद सिंह