वडाध्यक्षमाथि हातपात गरेको आरोपमा गिरफ्तार

राजपुर गाउँपालिका-५ का वडाध्यक्ष ४२ वर्षीय टङ्कबहादुर विष्टलाई हातपात गरी हत्या प्रयास गरेको आरोपमा आफूलाई साधुबाबा बताउने राजपुर गाउँपालिका-६ का २० वर्षीय विजय नेपालीलाई प्रहरीले ०८१ जेठ ८ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय, गढवाका इन्स्पेक्टर कालिका कार्कीका अनुसार राजपुर गाउँपालिका-५ को कार्यकक्षमा सामान्य विवाद हुँदा आरोपितले हातपात गरी छातीमा त्रिशुल प्रहार गरेका थिए । उक्त घटनाबाट घाइते वडा अध्यक्ष विष्टको दाहिने कोखामा चोट लागेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ ।

पीडितले जेठ ८ गते इलाका प्रहरी कार्यालय, गढवामा मौखिक उजुरी दिएको र सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर कार्कीले इन्सेकलाई जानकारी दिनुभयो ।


जयनारायण पुन