ड्युटीमा रहेका प्रहरीलाई कुटपिट,  आरोपितद्वय गिरफ्तार

  ०७९ असार १९ गते

अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका–४ जैसिथोकका रामशरण पोखरेल र रामेश्वर पोखरेललाई असार १८ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका पोखरेलद्वय लडेपछि उद्धार गर्न गएको प्रहरी टोलीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

कुटपिटका कारण प्रहरीद्वय घाइते भएका छन् । रोकाको गोरखा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रेफर गरिएको छ ।

रोकाको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । गिरफ्तार भएका रामशरण पोखरेल मण्डली मावि, छोप्राक र रामेश्वर पोखरेल रत्नराज मावि विरेन्चोकका बहालवाला शिक्षक हुन् ।

आरोपितद्वयविरुद्ध असार १९ गते सार्वजनिक शान्तिविरुद्धको अपराधमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

 


हरिराम उप्रेती