डोल्पाका २२ मतदान केन्द्र सम्वेदनशील

डोल्पामा तोकिएका ६६ मतदान केन्द्र मध्ये २२ मतदान केन्द्र सुरक्षा चुनौतिका आधारमा सम्वेदनशील सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

सम्वेदनशील सूचीमा राखिएका २२ ओटै मतदान केन्द्र उपल्लो डोल्पाका रहेका छन् । सुरक्षा तथा संचार व्यवस्थापनको आधारमा माथिल्लो भेगमा पर्ने मतदान केन्द्र अन्य मतदान केन्द्रको तुलनामा थप सम्वेदनशील भएको निर्वाचन कार्यालयको भनाई छ ।

डोल्पामा ६६ मतदान केन्द्रमा १८ हजार ७ सय ६७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । भौगोलिक रूपमा बिकट भएकाले भुगोललाई आधार मानेर प्रत्येक वडामा एउटा मतदान केन्द्र पर्ने गरी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी विक्रम गिरीले जानकारी दिए ।

उपल्लो डोल्पा वर्षौँदेखि सञ्चारविहीन छ । त्यहाँका छार्काताङसोङ्, डोल्पो बुद्ध, शेफोक्सुन्डोलगायतका स्थानीय तहमा कुनै सञ्चार सुविधा नहुँदा वर्षौँ देखि उक्त क्षेत्र सञ्चारविहीन भएका हुन् ।

"उपल्लो डोल्पासम्म पुग्न सदरमुकामदेखि हप्तौँ दिन लाग्छ । भौगोलिक रूपमा बिकट भएकाले पनि हत्तपत्त सूचना पाउन नसक्ने अवस्था छ ।"-निर्वाचन अधिकारी गिरीले भने-"प्रहरीको सेटबाहेक अरू कुनै सञ्चारका साधनले काम नगर्ने भएकाले निर्वाचनमा खटिएका कर्मचारीले सूचना प्रहरीलाई दिने र प्रहरीले जिल्लामा खबर गर्ने गर्दछ ।"

हिमपताले चुनावी गतिविधि प्रभावित

उपल्लो डोल्पामा कात्तिकको पहिलो हप्ता भित्रै भारी हिमपात भएपछि निर्वाचन गतिविधि प्रभावित भएको छ । कात्तिक महिनाको सुरूवातसँगै डोल्पाका उच्च भेगमा हिमपात हुने गर्दछ । हिमपातले जनजीवन कष्टकर हुने गर्दछ ।

अघिल्ला वर्षहरूमा जस्तै यस पटक पनि कात्तिक लागेसँगै हिमपात सुरू भएपछि निर्वाचन गतिविधि प्रभावित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हिमपातपछि बढेको चिसोले गर्दा मतदाता शिक्षाका लागि हिँड्न लागेका कर्मचारीसमेत रोकिएको कार्यालयले जनाएको छ ।

अब तीन/चार दिन भित्रै निर्वाचन शिक्षाका सामग्रीसहित कर्मचारी उपल्लो क्षेत्र पठाउने बताइएको छ । उपल्लो डोल्पामा दिन प्रतिदिन जाडो बढदै जान थालेपछि दलहरूले सक्रिय हिसावमा चुनावी गतिविधि अगाडि बढाउन सकेका छैनन् ।


विष्णुप्रसाद देवकोटा